एमाले सिन्धुपाल्चोकमा असन्तुष्टि : पूर्वमेयर निमफुञ्जो शेर्पाले त्यागे पार्टी

काठमाडौं ।  नेकपा एमालेका स्थापित नेता एवं बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाले पार्टी परित्यागको घोषणा गरेका छन् । सिन्धुपाल्चोक एमालेभित्रको आन्तरिक किचलो र नेतृत्वको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनले वर्षौंदेखिको राजनीतिक यात्रामा पूर्णविराम लगाएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै शेर्पाले पार्टीभित्रकै केही शक्ति केन्द्रहरूले आफूलाई योजनाबद्ध रूपमा पाखा लगाएको र दुःख दिएको आरोप लगाएका छन् । कुनै समय एमालेको उपस्थिति न्यून रहेको बाह्रबिसे र भोटेकोशी क्षेत्रलाई ‘लालकिल्ला’ बनाउन आफूले खेलेको भूमिकाको कदर हुनुको सट्टा उल्टै कारबाही भोग्नुपरेको उनको गुनासो छ ।

शेर्पाले आफू स्थानीय तहको पहिलो निर्वाचनमा संस्थापक मेयर चुनिएपछि बाह्रबिसेलाई एमालेको गढ बनाएको दाबी गरेका छन् । ‘त्यो जित मेरो व्यक्तिगत मात्र थिएन, पार्टी र कार्यकर्ताको सामूहिक शक्ति थियो,’ उनले भनेका छन्, ‘तर दुःखको कुरा, हाम्रो सफलतालाई पार्टीभित्रकै कतिपयले पचाउन सकेनन्। सङ्गठन बलियो भएको देख्न नचाहनेहरूले समानान्तर कमिटी बनाएर विभाजनको बीउ रोपे ।’

कार्यकर्ताको मनोबल उच्च राख्न सधैं अग्रपङ्क्तिमा खटिए पनि पार्टीले त्यसको मूल्यांकन नगरेको उनको ठहर छ । शेर्पाले भावुक हुँदै लेखेका छन्, ‘म सधैं साथीहरूको सुख-दुःखमा उभिएँ, तर बदलामा मलाई पुरस्कार स्वरूप कारबाही दिइयो । पार्टीले जब ‘तेरो आवश्यकता छैन’ भन्ने सन्देश दियो, तब त्यहाँ बसिरहनु मेरो स्वाभिमानले दिएन ।’

आफूमा केही मानवीय कमजोरीहरू रहेको स्वीकार गर्दै उनले ती कमजोरीलाई नै ढाल बनाएर आफ्नो सम्पूर्ण राजनीतिक योगदान र क्षमतालाई अपमानित गरिएको बताएका छन् । ‘म मान्छे हुँ, कमजोरी हुन सक्छ। तर त्यसको सजाय यति निर्मम हुनुपर्छ र ?’ उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =