राष्ट्रिय सभाको बैठक आज बस्दै, तीन अध्यादेश र दुई प्रतिवेदन पेश गर्ने तयारी

काठमाडौं । संघीय संसद्अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ । सिंहदरबारस्थित सभाहलमा दिउँसो सवा १ बजेका लागि बैठक आह्वान गरिएको छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यभार सम्बन्धी पत्रहरूको व्यहोरा अध्यक्षले सदनलाई जानकारी गराउने मुख्य कार्यसूची रहेको छ । यस्तै, राष्ट्रिय सभामा रिक्त रहेका सदस्यहरूको स्थान र सो सम्बन्धी सूचनाको जानकारी समेत बैठकमा गराइने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा संसदीय समितिका दुई महत्त्वपूर्ण प्रतिवेदनहरू पेश हुने कार्यक्रम छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभा समक्ष प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्यालले आजको बैठकमा तीनवटा महत्त्वपूर्ण अध्यादेशहरू पेश गर्ने तयारी छ । जसमा ‘मतदाता नामावली ऐन (संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।
आजको बैठकले विभिन्न समयमा निधन भएका पाँच पूर्वसांसद एवं मन्त्रीहरूको सम्मानमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । बैठकमा पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम, पूर्वमन्त्री एवं संविधान सभा सदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्वमन्त्री एवं पूर्वसांसद आमोदप्रसाद उपाध्याय र पूर्वमन्त्री एवं पूर्वसांसद होमनाथ दाहालको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।










