कलाकारको राजनीति मोहः परिवर्तनको आशा कि शक्ति चाहना ?

काठमाडौँ । नेपाली समाजमा एउटा स्थापित भाष्य छ, ‘कलाकार देशका गहना हुन्’ तर समय बदलिएको छ । हिजोसम्म पर्दामा समाजको ऐना देखाउने र मञ्चमा संस्कृति जोगाउने कसम खाने कलाकार आज देशको नीति निर्माण गर्ने थलो संसद्को कुर्सी खोज्न राजनीतिको मैदानमा उत्रिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा ‘स्क्रिप्ट’ कण्ठ गर्ने ओठ अहिले राजनीतिक घोषणापत्र र चुनावी नारा घन्काउन व्यस्त देखिन्छन् ।

निर्वाचन नजिकिँदा राजनीतिक दलका कार्यालयमा अहिले सुटिङ युनिटको भन्दा बढी चहलपहल देखिन्छ । अभिनेता, अभिनेतृदेखि निर्माता–निर्देशकसम्मको लर्को दलका ढोकामा लागेको छ । कतिपय स्थापित अनुहार समानुपातिकको सुरक्षित घेराभित्र ओत लागेका छन् भने कतिपयले प्रत्यक्ष तर्फको चुनौतीपूर्ण मैदान रोजेका छन् ।

यस पटकको चुनाव धेरै कलाकारका लागि ‘करियर’ को नयाँ मोड बन्दै छ । फागुन २१ पछि धेरैको भाग्य र भविष्यको फैसला हुने छ, उनीहरू माननीय बनेर सदन छिर्ने छन् या पुनः पुरानै मेकअप रुम र सुटिङ सेटमा फर्किने छन् ।

यसै भीडमा एउटा फरक स्वर सुनिएको छ, अभिनेतृ निशा अधिकारीको । काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी निशाले यस पटक केवल ग्ल्यामर प्रदर्शन गर्न राजनीति रोजेकी होइनन् । उनि भन्छिन् “म आगामी १० वर्ष देशको सेवा र राजनीतिमा समर्पित गर्ने योजनाका साथ आएकी हुँ । राजनीतिमा लागेपछि अवश्य पनि केही फरक हुन्छ । नीति नियमदेखि सदनभित्र हुने समितिका कुरामा मेरो सक्रियता रहने छ । कलाका रूपमा मैले जति काम गरेँ, राजनीतिमा त्योभन्दा धेरै गर्नुपर्ने जिम्मेवारी महसुस गरेकी छु ।” आफ्नो उम्मेदवारीबारे उनि भन्छिन्, “राजनीति भन्ने कुरा सदनमा मात्र गएर हुने होइन । म केवल सदनमा जान्छु भनेर मात्र राजनीतिमा निस्किएकी पनि होइन । म जन जनको मनमा बस्न र जनताको मतले जितेर सदनमा जानका लागि यो मैदानमा होमिएकी हुँ ।”

राजनीतिमा कलाकारको सक्रियतालाई लिएर समाज दुई धारमा विभाजित छ । कसैले यसलाई शक्ति र सत्ताप्रतिको मोह ठानेका छन् भने कसैले युवा र सचेत वर्गको हस्तक्षेपका रूपमा लिएका छन् ।

राजनीति आफैँमा देशको मूल नीति भएको मान्नुहुन्छ अभिनेतृ तथा सञ्चालिका रिमा विश्वकर्मा । उनका अनुसार हामी नेपालमै बसेर केही गरौँ भनेर लगिरहेका छौँ । हरेक व्यक्तिको जीवन सेवा भाव गर्ने सोच आएको हुनाले आफूले देखिरहेको अन्याय अत्याचारविरुद्ध आवाज मात्र उठाउनेभन्दा पनि त्यसलाई संस्थागत रूपमा पूर्ण गर्नका लागि सक्रिय राजनीतिमा सहभागिता जनाउनु पर्छ जस्तो लागेर राजनीतिमा लागेकी हुँ । उनले भनिन् “एउटा कलाकारले समाजका अनुभव चेतनालाई अर्थपूर्ण र सिर्जनशील ढङ्गमा अभिव्यक्त गर्न सक्छ भने त्यही कलाकारको चेतनालाई राजनीतिले समाज रूपान्तरणमा लगाई नीति निर्माण र शक्ति व्यवस्थापन गर्छ । सत्ता प्राप्ति मात्रै राजनीतिको उद्देश्य त हुँदै होइन । पार्टीले नेताहरूको योग्यता हेरेर उहाँहरूलाई पद दिनु आफ्नो ठाउँमा छ तर पदमा बसेर त्यसको उपयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने ठुलो कुरा हो ।

एउटा ¥यापरको पहिचानबाट काठमाडौँको मेयर बन्नुभएका बालेन्द्र शाहको सफलताले धेरै कलाकारलाई साहस दिएको छ । प्रतिनिधि सभाको समानुपातिक बन्दसूचीमा यस पटक कलाकारको बाक्लो उपस्थिति छ । पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, चर्चित गायक प्रकाश सपुत, अभिनेतृ तथा सञ्चालिका रिमा विश्वकर्मादेखि डा. रूपक घिमिरेसम्मको नाम बन्दसूचीमा अट्दा कला क्षेत्र तरङ्गित छ ।

यद्यपि राजनीतिको भित्री दाउपेच बुझेपछि वा आफ्नै व्यवस्थापनका कारण आसिफ साह र डा. त्रिशला गुरुङ जस्ता केही कलाकारले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्देशक तथा चलचित्र विश्लेषक केपी पाठकका अनुसार राजनीतिमा होमिएका कलाकारले बुझ्नुपर्ने छ संसद् भनेको सुटिङ सेट होइन, जहाँ ‘रिटेक’ को सुविधा पाइन्छ ! यहाँको एउटा गलत निर्णयले पुस्तौँलाई असर गर्न सक्छ । कलामार्फत समाजको घाउ देखाउनेहरूले अब सदनमा पुगेर त्यो घाउ निको पार्ने कानुन र पद्धति निर्माणका लागि लड्नुपर्ने उनीहरूमाझ चुनौती छ । कला, संस्कृति र बौद्धिक चेतनालाई राजनीतिको मूलधारमा मिसाएर एउटा सभ्य पद्धतिको विकास गर्नु नै कलाकारहरूको वास्तविक परीक्षा भएको उनको भनाइ थियो ।

उनले थपे “राजनीतिक सुझबुझ या संस्कार निर्माण गरेर लामो समयदेखि राजनीतिक संस्कृति विकास गरेर गएकाहरू अवश्य राजनीतिमा लामो समय टिक्छन् तर जो लोकप्रिय अनुहार भएर गएका या कोटामा परेकाहरूले पार्टीबाट चर्चामा आउँछ र सांसद भइहाल्छु भन्ने सोचले गएकाहरू लामो समय पार्टीमा टिक्दैनन् । कलाकर्मीहरूमा धैर्यताको एकदमै कमी छ । त्यसैले पनि लामो समय उनीहरू राजनीतिमा टिक्लान् भन्न गाह्रै छ ।”

फागुन २१ ले यो अन्तिम फैसला गर्ने छ कि कलाकार देश चलाउन सक्षम र गतिशील बनेर निस्कन्छन् वा राजनीतिक दलका बैठक र सदनका कुनामा सजाएर राखिएका निर्जीव सजावटका सामान मात्र बन्छन् । यो नतिजाले केवल उनीहरूको हारजित तय गर्ने छैन, बरु आगामी पुस्ताका कलाकारका लागि राजनीतिको ढोका कति खुला वा बन्द रहने भन्ने सन्देशसमेत छ ।

गोरखापत्र दैनिकबाट साभार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =