एमाले र माओवादीबीच चुनावी तालमेलको कसरत

काठमाडौं । आगामी निर्वाचनका लागि नेकपा (एमाले) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बिच सीमित निर्वाचन क्षेत्रमा चुनावी तालमेलको कसरत भएको छ । दुई पार्टीबिच भएको ‘भद्र सहमति’ अनुसार केही रणनीतिक क्षेत्रहरूमा एक-अर्कालाई सघाउने गरी कार्यगत एकताको गृहकार्य सुरु भएको हो ।
सहमति अनुसार विप्लव नेतृत्वको माओवादीले एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार रहेको दाङ-२ मा आफ्नो उम्मेदवारी दिएको छैन । एमालेलाई बलियो बनाउन माओवादीले सो क्षेत्र खाली छोडेको बताइएको छ । यसै गरी, कालिकोटमा एमालेले उम्मेदवारी नदिने र माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सघाउने प्रारम्भिक समझदारी भएको थियो ।
माओवादी लुम्बिनी प्रदेशका इन्चार्ज सन्तोष बुढामगरले एमालेसँगको समझदारीलाई आफूहरूले इमानदारीपूर्वक पालना गरेको बताए । ‘दाङ-२ मा हामीले शंकर पोखरेलजीसँग भएको सहमति अनुसार नै उम्मेदवारी दिएका छैनौँ,’बुढामगरले भने, ‘कालिकोटमा एमालेले उम्मेदवारी फिर्ता लिने भनिएको थियो, तर अहिलेसम्म फिर्ता भएको छैन । उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म सहमति कार्यान्वयन हुनेमा हामी आशावादी छौँ ।’
यता एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले तल्लो तहमा तालमेलका विषयमा छलफल भए पनि अन्तिम निर्णय भइनसकेको जानकारी दिइन् । उनले भनिन्, ‘माओवादीले दाङमा हामीलाई सघाउने निर्णय गर्नुभएको छ, जुन सकारात्मक छ । हामीले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिए पनि केही सीमित ठाउँमा तालमेल हुनसक्छ । अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किएपछि यसबारे ठोस निर्णय हुनेछ ।’
विप्लव नेतृत्वको माओवादी २०६९ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट अलग भएपछि पहिलोपटक निर्वाचन प्रक्रियामा सहभागी भएको हो । यसपटक उसले देशभर १३० क्षेत्रमा उम्मेदवारी दिएको छ । यद्यपि, पार्टी महासचिव विप्लव स्वयम् भने चुनावी मैदानमा उत्रिएका छैनन् ।
दाङ-२ मा एमालेका पोखरेलसँगै कांग्रेसका किरण किशोर घिमिरे र रास्वपाका विपिन कुमार आचार्य प्रतिस्पर्धामा छन् । यता कालिकोटमा माओवादीका प्रकाण्डसँगै नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता महेन्द्र बहादुर शाही चुनावी मैदानमा छन् ।










