प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कार्यतालिकालाई तीव्रता दिएको छ । आयोगले आज बिहीबार उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी पुरा गरेको छ ।

गत मंगलबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूका सम्बन्धमा परेका उजुरीहरूको जाँचबुझ र आवश्यक प्रक्रिया पूरा गरी आज नामावली सार्वजनिक गर्न लागिएको हो । आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूको योग्यतासम्बन्धी दाबी-विरोध र उजुरी लिने समय निर्धारण गरिएको थियो । प्राप्त उजुरीहरूउपर हिजो साँझ नै प्रारम्भिक छानबिन सम्पन्न भइसकेकाले आज साँझ ५ बजेदेखि ७ बजेभित्र उम्मेदवारहरूको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते शुक्रबार उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा समय उपलब्ध गराइनेछ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी अपराह्न ४ देखि ७ बजेभित्र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यतालिका छ ।

आयोगको पछिल्लो तथ्यांक अनुसार यसपटक प्रतिनिधि सभाका लागि देशभरबाट कुल ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुषको संख्या ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =