पश्चिमी वायुको प्रभावले यी प्रदेशमा वर्षा र हिमपात

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण देशको मौसम प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ । हाल नेपालमा आंशिक प्रभाव जमाएको पश्चिमी वायु थप सक्रिय हुँदा भोलि (शुक्रबार) देखि विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (बिहीबार) देशका अधिकांश भूभागमा मौसम सफा रहे पनि भोलिदेखि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले मौसममा प्रतिकूलता महसुस गर्नेछन्। विशेषगरी भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूका साथै गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।

यसैगरी, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपात हुन सक्ने भएकाले चिसो बढ्न सक्ने आँकलन गरिएको छ।

आजको अवस्था कस्तो छ ?
आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, तराई मधेसका जिल्लाहरूमा भने बिहानैदेखि हुस्सु र कुहिरोको प्रभाव देखिएको छ। आज राति पनि तराईमा हुस्सु लाग्ने तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा बादल लाग्ने क्रम जारी रहने महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =