रास्वपाले समानुपातिक सूचीबाट हटाएकी टासी ल्हाजोम हुम्लाबाट प्रत्यक्ष उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूचीबाट नाम हटाएकी टासी ल्हाजोम हुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् । उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
पार्टीले समानुपातिक बन्दसूचीबाट नाम हटाएपछि हुम्लामा असन्तुष्टि चर्किएको थियो । स्थानीय पार्टी पंक्तिले टासीलाई प्रत्यक्ष उम्मेदवार बनाउन माग गर्दै धर्नासमेत दिएका थिए । त्यसकै दबाबपछि उम्मेदवारी दर्ताको दिन मात्रै उनलाई प्रत्यक्षतर्फको टिकट दिइएको रास्वपाका स्थानीय नेताहरूले बताएका छन् ।
जलवायु अभियन्ताका रूपमा परिचित २४ वर्षीया टासी ल्हाजोम यसअघि मन्त्री बन्ने चर्चामा पनि थिइन् । तर अन्तिम समयमा उनि मन्त्री बन्न पाइनन् ।
हुम्लाको लिमी उपत्यकामा जन्मिएकी टासी ल्हाजोम जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिँदै आएको हिमबाढी, हिमपहिरो र वातावरणीय संकटबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएकी अभियन्ता हुन् । उनले हिमाली भेगको कथा समेटिएको ‘नो मोनास्ट्री, नो भिलेज’ नामक वृत्तचित्रसमेत निर्माण गरेकी छन् ।










