भृकुटीमण्डपमा माघ १० गते भव्य कन्सर्टसँगै चलचित्र ‘कुमारी’को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौँ । माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रेम कथानक चलचित्र ‘कुमारी’ले आफ्नो प्रचार प्रसारलाई निकै आक्रामक र साङ्गीतिक बनाएको छ ।

देशका प्रमुख सहरहरूमा साङ्गीतिक माहौल सिर्जना गर्दै हिँडेको निर्माण टोलीले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित खुला स्थानमा एक भव्य साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सोही विशेष समारोहका बीच चलचित्रको बहु प्रतीक्षित अफिसियल ट्रेलर समेत सार्वजनिक गरिने तयारी गरिएको छ।

यसअघि माघ १ गते नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा माघ ३ गते पोखराको लेकसाइड र माघ ६ गते चितवनको नारायणी तिरमा भव्य रूपमा सम्पन्न भइसकेको छ ।

हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको यस यात्राले चलचित्रप्रति सर्वसाधारणको चासो ह्वात्तै बढाएको छ । पोखरा र चितवनको सफलतापछि सङ्घीय राजधानी छिर्न लागेको ‘कुमारी’ टोलीले भृकुटीमण्डपको कार्यक्रमलाई अझ विशेष बनाउने योजना बुनेको हो ।

भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टमा चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ को मुख्य प्रस्तुति रहनेछ । साथै, लोकप्रिय महिला गायन समूह ‘इस्त्रीज’ले पनि आफ्नो गायकीमार्फत दर्शकलाई झुमाउनेछन् । चलचित्रका कार्यकारी निर्माता केदार भुसालले यो कन्सर्ट पूर्णतया निस्शुल्क रहने जानकारी दिए । उनले सर्वसाधारण दर्शकलाई चलचित्रका कलाकार र सङ्गीतसँग जोड्ने उद्देश्यले कुनै पनि प्रवेश शुल्क नराखिएको बताए।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारीका साथै निर्देशन दिनेश राउत र चलचित्रको पुरै युनिट तथा अन्य सेलिब्रेटी, पत्रकार र सर्वसाधारणको ठुलो उपस्थिति रहने जनाइएको छ । निर्देशक दिनेश राउतले मोफसलमा देखिएको दर्शकको अभूतपूर्व माया र क्रेजले आफूलाई निकै उत्साहित र पुलकित बनाएको बताएका छन् ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित यस चलचित्रको साङ्गीतिक यात्रा काठमाडौँपछि माघ १७ गते झापाको दमकमा पुगेर समापन हुनेछ । चलचित्रमा समावेश ‘डोको बुन्ने’ गीतले युट्युबमा मात्र करिब आधा करोड भ्युजको यात्रा तय गरिसकेको छ भने लाखौँ टिकटक तथा रिल्स बनेका छन् । यस चलचित्रका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरूले यसअघि नै चर्चा कमाइसकेकाले पनि माघ १० गते सार्वजनिक हुने ट्रेलरलाई लिएर दर्शकमाझ निकै उत्सुकता देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =