भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेशसँग भिड्दै राजीव र दीपशिखा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि भक्तपुरका दुई निर्वाचन क्षेत्रमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। यस पटकको निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ र २ दुवैमा पुराना र अनुभवी अनुहारहरूले पुनः आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्, जसले गर्दा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को बलियो पकड मानिने भक्तपुर क्षेत्र नं. १ मा प्रेम सुवालले चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले २०४८ देखि २०७० सम्म लगातार पाँच पटक जितेर कायम गरेको विरासतलाई सुवालले २०७० यता निरन्तरता दिँदै आउनुभएको छ। यस क्षेत्रमा सुवालसहित २५ जना चुनावी मैदानमा उत्रिए पनि अनुभवी उम्मेदवारका रूपमा सुवालकै चर्चा बढी छ।

यद्यपि, सुवाललाई चुनौती दिन नेकपा (एमाले) बाट चाँगुनारायण नगरपालिकाका पूर्वप्रमुख सोम मिश्र र नेपाली कांग्रेसका तर्फबाट नेपाल बार एशोसिएशन भक्तपुरका पूर्वअध्यक्ष किरण न्यौपानेले उम्मेदवारी दिएका छन्। स्थानीय राजनीतिमा भिजेका मिश्र र कानुनी क्षेत्रमा सक्रिय न्यौपानेको उपस्थितिले यो क्षेत्रको प्रतिस्पर्धालाई त्रिपक्षीय बनाउने अनुमान गरिएको छ।

क्षेत्र नं. २ मा नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेत तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएको छ। २०७४ को निर्वाचनमा पूर्वसभामुख दमननाथ ढुङ्गानालाई पराजित गरी संसद् छिर्नुभएका बस्नेत २०७९ को निर्वाचनमा भने नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित हुनुभएको थियो। यसपटक आफ्नो पराजयको बदला लिँदै पुनरागमन गर्ने दाउमा बस्नेत हुनुहुन्छ।

यस क्षेत्रमा कुल ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसले यस पटक पत्रकार कविर राणालाई मैदानमा उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजिव खत्री र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले उम्मेदवारी दिएका छन् । पुराना खेलाडी बस्नेत र नयाँ जोशका साथ आएका राणा, खत्री र सापकोटाबीचको भिडन्तले क्षेत्र नं. २ को नतिजा कता जान्छ भन्ने कौतुहलता बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =