निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष भएर निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएका छन् ।
मङ्गलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कसैको पक्षधरता नलिने बताएका हुन् ।
उनले सुशासनको बाहेक अन्य कुरामा सकैको पक्षधरता नलिने बताए । संवैधानिक व्यवस्थाअनुसार संसद् विघटन भएको ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने भएकोले सरकार सोही बाटोमा अगाडी बढेको उनले जानकारी दिए ।
उनले सबै पक्षको विश्वास जितेर सरकारले निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताए । फागुन २१ गतेको निर्वाचन कुनै हालतमा नसर्ने उनको भनाई छ । हिमपात लगायतका केही समस्या आएमा केही ठाउँहरूमा स्थगन हुने उनले बताए । विगतमा पनि स्थगन हुने गरेकोले त्यसलाई ठुलो समस्याको रूपमा लिन नहुने उनको भनाई छ ।
उनले भने ‘यो सरकार चुनावी सरकार हो । चुनावी सरकार निष्पक्ष र तटस्थ हुनुपर्छ । निष्पक्षताको प्रत्याभूति हामी दिलाउँछौँ । हामी कुनै पक्ष होइन अहिले, खाली सुशासनको पक्षधर हो । सुशासनको पक्षलिनुलाई कुनै पक्ष भन्न मिल्दैन । अरू राजनीतिक विषयवस्तुको सन्दर्भमा हामीहरू कसैको पक्षधरता लिने भूमिकामा हामी छैनौँ । हामी निष्पक्ष भएर सबै सरोकारवालाहरूको विश्वास जितेर नै अगाडी बढ्छौँ । अहिलेको संवैधानिक प्रावधान अनुसार संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गराउँनैपर्छ । त्यसकारण फागुन २१ को मिति सर्दैन । त्यस्तो केही भईपरि अवस्था आयो भने कतिपय ठाउँहरूमा स्थगन हुने कुराहरू पहिले पनि भएको हो । हिमपात लगायतका कारणले केही ठाउँहरूमा स्थगन होला ।’
उनले प्रहरीहरूको मनोबल हाल उच्च रहेकोले सुरक्षा व्यवस्थामा कुनै समस्या नरहेको पनि बताए । देश निर्वाचनको माहौलमा गइरहेको उनको भनाई छ ।










