देउवाको ३४ वर्षे संसदीय यात्रामा ब्रेक

गगनले दिए डडेलधुराबाट नयनसिंह महरलाई टिकट

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्ष लामो अविच्छिन्न संसदीय यात्रामा ‘ब्रेक’ लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देउवाले उम्मेदवार नबन्ने घोषणा गरेसँगै उनको गृहजिल्ला डडेलधुराबाट कांग्रेसले युवा नेता नयनसिंह महरलाई अघि सार्ने भएको हो ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व अध्यक्ष समेत रहेका महरले देउवाको विरासत थाम्ने गरी टिकट पक्का गरेका हुन् । देउवाको सचिवालयले सोमबार नै उनी निर्वाचनमा उम्मेदवार नबन्ने औपचारिक जानकारी गराएको थियो । देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’

देउवा ‘ब्याक’ भएसँगै डडेलधुरामा महरको इन्ट्री भएको हो । यद्यपि, कांग्रेस संसदीय बोर्डको बैठक अझै जारी रहेकाले टिकट वितरणको अन्तिम औपचारिक सूची सार्वजनिक हुन बाँकी छ ।

नेपाली कांग्रेस डडेलधुरा कार्यसमितिले आगामी निर्वाचनका लागि देउवाको नाम एकल सिफारिस गरेको थियो । तर, केन्द्रको बदलिँदो राजनीतिक समीकरण र पार्टीभित्रको शक्ति सन्तुलनले उनलाई ‘रिङ’ बाहिर पुर्‍याएको विश्लेषण गरिएको छ ।

हालै सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा समूहको हातमा नेतृत्व पुगेसँगै देउवा समूह दबाबमा थियो । स्रोतका अनुसार, नयाँ नेतृत्वले देउवालाई टिकट नदिने मनस्थिति बनाएको सुइँको पाएपछि पूर्वप्रधानमन्त्री देउवाले आफैं चुनावी मैदान छोड्ने निर्णय लिएका हुन् । देउवासँगै उनकी पत्नी आरजु राणा देउवाले पनि यसपटक टिकट पाइनन् । कैलाली-५ बाट सिफारिस भएकी आरजुको सट्टा पार्टीले नरनारायण शाहलाई टिकट दिएको छ । जेन-जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि भएको सांघातिक आक्रमण र पार्टीभित्रको ‘जेनेरेसन सिफ्ट’ को मुद्दाले पनि यो निर्णयमा भूमिका खेलेको बताइन्छ ।

संसदीय इतिहासमा एक युगको अन्त्य
२०४८ सालदेखि डडेलधुराबाट एकछत्र राज गर्दै आएका देउवाको यो बहिर्गमन नेपाली राजनीतिमा एक युगको अन्त्य हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल वैशाख २९ गते भएको निर्वाचनमा पहिलो पटक सांसद बनेका देउवा त्यसयताका सातवटै निर्वाचन (२०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९) मा अपराजित रहँदै आएका थिए ।

पाँच पटक प्रधानमन्त्री भइसकेका र ‘मलाई ज्योतिषिले ७ पटक प्रधानमन्त्री हुन्छस् भनेको छ’ भन्ने अभिव्यक्तिका कारण चर्चामा रहने देउवाको पुनः प्रधानमन्त्री बन्ने सपनामा अब पूर्णविराम लागेको छ ।

२००३ सालमा डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए । २०४८ सालमा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका देउवा, हठी र साहसी नेताको रूपमा चिनिन्थे । तर, ३४ वर्षसम्म संसद भवनमा गुञ्जिने उनको आवाज यसपटकको निर्वाचनपछि भने सुनिने छैन । देउवाको ठाउँमा अब डडेलधुराका मतदाताले युवा नेता नयनसिंह महरलाई कति साथ दिन्छन्, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =