टी-२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । आउँदो फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार राजधानीमा विशेष समारोहको आयोजना गरी खेलाडी तथा व्यवस्थापन टोलीलाई वैदेशिक भ्रमण र विश्वकप यात्राका लागि शुभकामनासहित बिदाइ गरेको हो ।

नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने तालिका छ । विश्वकपको मुख्य प्रतियोगिता सुरु हुनुअघि नेपालले श्रीलंका र भारतमा विशेष अभ्यास शृङ्खला खेल्ने तयारी गरेको छ । सोही तयारीलाई मध्यनजर गर्दै टोलीलाई केही समय अगावै बिदाइ गरिएको क्यानले जनाएको छ ।

बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट अहिले विश्वकै आकर्षणको केन्द्र बनेको बताए । उनले भने, ‘हामीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेका छौँ, जुन विश्वले नियालिरहेको छ । खेलाडीदेखि व्यवस्थापनसम्म सबैले मिहिनेत गरेका छन् । भारतमा हुने खेलहरूमा नेपाली समर्थकको ठूलो साथ रहनेमा हामी विश्वस्त छौँ ।’

टोलीका कप्तान रोहित पौडेलले टोलीको तयारी उत्कृष्ट रहेको र खेलाडीहरू उच्च मनोबलमा रहेको बताए । ‘हाम्रो तयारी निकै राम्रो भएको छ, अभ्यास खेलहरूले टोलीको सन्तुलन अझ मजबुत बनाउनेछ,’ कप्तान पौडेलले भने, ‘सन् २०२५ हाम्रो लागि सुखद रह्यो, यो वर्ष पनि त्यस्तै नतिजा ल्याएर नेपाली क्रिकेट प्रेमीहरूलाई गर्व गर्ने अवसर दिनेछौँ ।’

त्यस्तै, मुख्य प्रशिक्षक स्टुअर्ट लले अभ्यास खेलमार्फत रणनीतिक योजनालाई अन्तिम रूप दिने बताए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भारतको परिस्थिति (कन्डिसन) नेपालसँग मिल्दोजुल्दो रहेकाले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको उल्लेख गरे ।

नेपालले विश्वकपको समूह चरणमा पूर्व विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा भिड्नुअघि नेपालले श्रीलंकामा ‘श्रीलंका ए’ सँग र भारतमा ‘मुम्बई एमसीए प्रेसिडेन्ट ११’ सँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =