रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, चुनावको तयारी तीव्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार आगामी आइतबार दिउँसो २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको हो ।
पार्टीको आन्तरिक रणनीति र आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेर यो बैठक बोलाइएको हो । बैठकमा निर्वाचन लक्षित कार्यक्रम, उम्मेदवार चयनका मापदण्ड र पार्टीको साङ्गठनिक सुदृढीकरणका बारेमा सघन छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।
बैठकको गाम्भीर्यलाई ध्यानमा राख्दै रास्वपाले आफ्ना सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । ‘आगामी निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आधिकारिक धारणा तय गर्न र कार्ययोजना बनाउन यो बैठक महत्त्वपूर्ण हुनेछ,’ प्रवक्ता झाले भने ।









