फागुन २१ मै निर्वाचन हुन्छ, मैले त टिकट समेत बाँडेर आइसकेः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आम निर्वाचन घोषित मितिमै हुने भन्दै कसैले आशंका नगर्न नहुने बताएका छन् ।
शुक्रवार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन् ।
उनले मुलुक जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको भन्दै यसको समाधान निर्वाचन एकमात्र विकल्प भएको बताए ।
संयोजक दाहालले गत भदौ २३ र २४ गतेको जेनजी विद्रोह र विध्वंसपछि देश असाधारण अवस्थाबाट गुज्रिरहेको भएपनि विस्तारै राजनीतिक प्रक्रिया अगाडि बढ्न थालेको बताए ।
उनले आफूले बिहीवार काठमाडौंमा प्रत्यक्षतर्फको निर्वाचनको लागि टिकट समेत वितरण गरेर आइसकेको भन्दै निर्वाचन हुने नहुने भन्ने प्रश्नमा अल्झिनुभन्दा राम्रो तयारीका साथ अघि बढ्न अपिल गरे ।
मुलुक, संविधान र व्यवस्थाको रक्षाका लागि आफूहरुले ठुलो संघर्ष गर्नुपरेको स्मरण गदै उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न समेत अपिल गरे ।









