डा.अमरेशकुमार सिंह रास्वपा प्रवेश गर्दै

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो जानकारी दिँदै माघ ५ गते जनकपुरधाममा हुने रास्वपाको आमसभाबाट नयाँ राजनीतिक अध्याय सुरु गर्ने बताएका हुन् ।

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दैछु,’ सिंहले लेखेका छन्, ‘देश र मधेशमा रहेको भ्रष्टाचार तथा कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ ।’

सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सिंह यसअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद थिए ।

२०७९ को निर्वाचनमा पार्टीको टिकट नपाएपछि स्वतन्त्र लडेर विजयी भएका उनले संसदमा विवादास्पद अभिव्यक्ति तथा प्रदर्शनका लागि पनि चर्चा कमाएका थिए ।

रास्वपा प्रवेशसँगै सिंहले भ्रष्टाचार र कुशासनविरुद्धको अभियानलाई पार्टीको प्लेटफर्मबाट अघि बढाउने संकेत दिएका छन् । जनकपुरधाममा हुने आमसभामा उनको औपचारिक प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =