आयोगलाई काँग्रेसको आग्रह: निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिइयोस्

काठमाडौँ । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
शुक्रवार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफलका बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले निर्वाचन शब्दको उपहास हुने गरी सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको दुरुपयोग बढेकाले निर्वाचन आयोगले यसलाई नियन्त्रण गर्नका लागि तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने बताए । नेता विश्वकर्माले सूचना प्रविधिको दुरुपयोग हुन नदिनका लागि निर्वाचन आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको व्यवस्था गर्न उपयुक्त हुने धारणा समेत राखे ।
उनले भने ‘सूचना प्रविधिको दुरुपयोगलाई नियन्त्रण, नियमन र व्यवस्थापन गर्ने क्षमता निर्वाचन आयोगले राख्नुपर्छ भन्छु म । छ कि छैन ? भनेर प्रश्न गर्दिन । विगतको निर्वाचन हेर्दा अहिले कस्तो भएको छ भने सामाजिक सञ्जालमा कृत्रिम फेसबुकमा सर्वेक्षण फलानो प्रधानमन्त्री । मानिसलाई अनुहार आउँछ मैले त फलानोलाई भोट हाल्ने भए भएर भनेर । यो निर्वाचन शब्दको को नै उपहास भयो । निर्वाचन शब्दको शब्दकोषमा गएर हेर्ने हो भने नबोली गएर चयन गर्ने कुरालाई निर्वाचन भनिन्छ । तर हामीले सामाजिक सञ्जाल यति दुरुपयोग गरिरहेका छौ । त्यसकारण मेरो अनुरोध छ निर्वाचन आयोगलाई–यसलाई व्यवस्थापन गर्ने क्षमता बढाऔँ । साइबर ब्युरो, बाह्य परिवेक्षकहरुलाई बोलाएर भएपनि यो कामलाई गरौँ । अर्को यो मुलुकमा सबैभन्दा बढी दुरुपयोग भएको छ भने राष्ट्रिय झन्डाको दुरुपयोग भएको छ । सिंहदरबार जलाउँदा पनि राष्ट्रिय झन्डा, सर्वोच्च अदालत जलाउँदा पनि राष्ट्रिय झन्डा, राष्ट्रपतिलाई आक्रमण गर्न जाँदा पनि राष्ट्रिय झन्डा । त्यसकारण यो राष्ट्रको झन्डालाई प्रतिस्पर्धामा उतार्न दिनु भएन ।’
नेता विश्वकर्माले निर्वाचनमा राष्ट्रिय झन्डाको दुरुपयोग हुन नदिन पनि निर्वाचन आयोगलाई सचेत गराए ।









