भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन् ।
आज भूगोल पार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृतिसभामा उनले विपद्को सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै लैजानुपर्ने बताए ।
‘आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ’ उनले भने ‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानुपर्छ ।’
सभाका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनः स्थापना र पुनर्लाभको औजार बनाउनुपर्ने बताए ।
‘विपद्का समयमा पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदाय नै हो’ उनले भने ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकार समन्वय, आपसी ज्ञान र सीपको आदान प्रदान तथा एकीकृत योजना पहिलो सर्त हो । यसका लागि मिलेर काम गरौँ ।’
कार्यक्रममा कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने ‘प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठुला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवर्द्धन गरौँ ।’
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरू, महानगरपालिकाका नगर सभा सदस्यहरू, विभागीय प्रमुखहरू, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीस् भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित दिवस मनाइएको हो ।’
विसं १९९० माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ । विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । विसं २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी दिवस मनाउन थालिएको हो ।









