देउवा पक्षले भ्रम फैलायो : महामन्त्री घिमिरे

काठमाडौं । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको भन्दै देउवा पक्षले भ्रम फैलाएको बताएका छन् ।
देउवा पक्षका नेताहरूले शुक्रबार निर्वाचन आयोग पुगेर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८ सय ८५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका थिए । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समेत निर्वाचन आयोगमा ८ सय ८५ जनाले हस्ताक्षर फिर्ता लिएको जानकारी दिएका थिए ।
तर, महामन्त्री घिमिरेले उक्त दाबी निराधार रहेको बताए । महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाटै कांग्रेसको नेतृत्व चयन भइसकेको अवस्थामा हस्ताक्षर फिर्ता लिनु अर्थहीन हुने उनको भनाइ छ ।
‘महाधिवेशन प्रतिनिधिले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन सम्पन्न गरिसकेका छन्, नीति र नेतृत्व चयन भइसकेको छ,’ उनले मकालुखबरसँग भने, ‘अब हस्ताक्षर फिर्ताको कुरा गर्नु भ्रम फैलाउने प्रयास हो ।’
महामन्त्री घिमिरेले अझै पनि महाधिवेशन प्रतिनिधिको अधिकार मिच्ने काम भइरहेको दाबी गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यासमाथि हस्तक्षेप स्वीकार्य नहुने बताए ।









