रविको पक्षमा महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध खबरदारी प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा खबरदारी प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरूले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘राजनीतिक संरक्षण’ र ‘न्यायको उपहास’ भएको भन्दै विरोध जनाएका हुन् ।
उनीहरूले प्लेकार्ड र नारा लगाउँदै सहकारी पीडितहरूलाई न्याय दिनुपर्ने माग गरेका छन् । महान्यायाधिवक्ता सविता भण्डारी बरालले मङ्गलवार विभिन्न जिल्ला अदालतहरू ९कास्की, रुपन्देही, काठमाडौँ र पर्सा० मा दायर अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने स्वीकृति दिएका थिए ।
यो निर्णयपछि लामिछानेमाथि सहकारी ठगीको अभियोग मात्र कायम रहने भएको छ । कार्यालयले यो कदम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम भएको जनाएको छ । प्रदर्शनमा सहभागीहरूले यो निर्णयले सहकारी ठगीका पीडित बचतकर्ताहरूको हकहितलाई प्राथमिकतामा नराखेको र राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा कमजोर बनाइएको आरोप लगाएका छन् ।
यसअघि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका कारण गम्भीर अभियोग लगाइएको भन्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए ।









