विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदा पार्टी फुट्दैन: विश्वप्रकाश शर्मा

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताएका छन् ।
बिहीवार सञ्चारकर्मीहरूसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसको विशेष महाधिवेशन सफल भएको उनको दाबी छ । विशेष महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरू निर्वाचन आयोग गएको बताए ।
उनले भने ‘नेपाली काँग्रेस पार्टीको विशेष महाधिवेशन सफल भएको छ । यसले देशको लागि जुन दृष्टिकोण पारित गरेको छ, सँगैमा नेतृत्व पनि परिवर्तन गरिसकेको छ । यसबारेमा निर्वाचन आयोगलाई अद्यावधिक गराउन जानकारी गराएका छौँ । काँग्रेसले नै विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्दा पार्टी फुट्दैन ।’
उपसभापति शर्माले विशेष महाधिवेशनको म्याण्डेटबारे आयोगमा अद्यावधिक गर्न आयोगलाई जानकारी गराइएको बताए ।








