बालेनको माघी सन्देश- सबैमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक विशेष सन्देश जारी गर्दै उनले माघ १ गतेलाई प्रकृति फेरिने दिन मात्र नभएर नेपाली सांस्कृतिक विविधताको अनुपम संगमका रूपमा व्याख्या गरेका हुन् ।

राष्ट्रिय एकताको भावना बोकेको प्रसिद्ध गीतका हरफहरू उद्धृत गर्दै बालेनले आफ्नो शुभकामना सन्देशको सुरुवात गरेका छन् । उनले लेखेका छन्, ‘सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल’ ।

मेयर शाहले माघे संक्रान्तिको खगोलीय र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने उल्लेख गरेका छन् । उनले यस पर्वलाई समुदाय विशेषका आधारमा फरक-फरक नाम र शैलीले मनाइने प्रचलनलाई सूक्ष्म रूपमा प्रस्तुत गरेका छन् ।

उनका अनुसार, नेवार समुदायमा यसलाई ‘घ्यः चाकु संल्हू’ का रूपमा मनाइन्छ भने किरात समुदायले यसै दिनलाई आफ्नो ‘यल संवत्’ को नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ स्वागत गर्छन् । त्यसैगरी, थारू समुदायको सबैभन्दा ठूलो र मौलिक संस्कृतिको प्रतीक ‘माघी’ पर्वको महत्त्वलाई पनि उनले विशेष प्राथमिकताका साथ उल्लेख गरेका छन् ।

विभिन्न जातजाति र समुदायले आ-आफ्नै परम्पराअनुसार यो पर्व मनाउने भए तापनि सबैको मूल भावना एउटै रहेको बालेनको ठहर छ । उनले लेखेका छन्, “हामी जोडिने, रमाउने र उत्सव मनाउने नाम र शैली फरक होलान्, तर भावना एउटै छ ।”

मेयर शाहले यस पावन अवसरमा सबै नेपालीको जीवनमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस् भन्ने कामना गर्दै मंगलमय शुभकामना व्यक्त गरेका छन् । संक्षिप्त तर अर्थपूर्ण शैलीमा संवाद गर्न रुचाउने बालेनले यस पटक भने नेपालको बहुसांस्कृतिक पक्षलाई समेट्दै विस्तृत रूपमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =