वित्तीय प्रणालीमा शंकास्पद कारोबार बढ्यो

काठमाडौं । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार शंकास्पद दर अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बढेको हो । नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा रहेकाले शंकास्पद वित्तीय कारोबार बढ्नु सकारात्मक नरहेको जनाएको छ । यो अवस्थामा वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर बढ्नु थप चुनौतीका रूपमा देखिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा शंकास्पद कारोबार र गतिविधि रिपोर्ट ३०.३५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यसको संख्या ७ हजार ३ सय ३८ रहेकोमा हाल ९ हजार ५ सय ६५ पुगेको छ । वित्तीय जानकारी इकाइको ‘गो एएमएल’ प्रणालीमार्फत प्राप्त भएका रिपोर्टहरूमध्ये ९ सय ४५ वटा वित्तीय सूचना प्रतिवेदनहरू अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ ।

रकमका आधारमा शंकास्पद कारोबारको सूचना ८२.७५ प्रतिशतले बढेको छ । अघिल्लो आव २०८०/८१ मा २३ अर्ब २६ करोड २२ लाख रुपैयाँ बराबरको सात हजार तीन सय ३८ वटा उजुरी परेका छन् । गत आवमा भने ४२ अर्ब ५१ करोड १९ लाख रुपैयाँ बराबरको नौ हजार ५ सय ६५ वटा उजुरी परेका छन् ।

वार्षिक प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत र सञ्चालनगत प्रगतिलाई समेटेको छ ।

वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ का दौरान इकाइले सम्पन्न गरेका नीतिगत तथा प्राविधिक कार्यहरूको विवरण पनि समेटिएको छ । यस अवधिमा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार, शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गरिएको छ । त्यस्तै, वर्षभर नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिवेदनअनुसार गत आवमा सबैभन्दा धेरै सूचना वाणिज्य बैंकहरूबाट ३८ अर्ब ८८ करोड बराबरका सात हजार तीन सय तीनवटा प्राप्त भएका छन् । यसैगरी, विकास बैंकबाट सात सय ८० वटा सूचनामार्फत ७५ करोड ९६ लाख, सेयर ब्रोकर कम्पनीबाट चार सय ९१ वटा सूचनामार्फत एक अर्ब ९१ लाख रुपैयाँ बराबरको सूचना प्राप्त भएको छ ।

यस्तै, वित्त कम्पनीबाट ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ३५५, भुक्तानी सेवाप्रदायकबाट १६ करोड ५७ लाख रुपैयाँ बराबरको दुई सय ५२, बिमा कम्पनीबाट ४९ करोड ८८ लाख रुपैयाँ बराबरको २४४, रेमिट्यान्स कम्पनीबाट २८ करोड ५६ लाख रुपैयाँ बराबरको १०० वटा सूचना प्राप्त भएका छन् । यस्तै सहकारीबाट ६ करोड ५६ लाख रुपैयाँ बराबरका ३६, क्यासिनोबाट ६१ लाख रुपैयाँ बराबरका दुई, हायर पर्चेजबाट तीन लाख ९० हजार रुपैयाँ बराबरको एक र लघुवित्तबाट ११ लाख रुपैयाँ बराबरको एउटा कारोबार शंकास्पद भएको भन्दै इकाइमा रिपोर्टिङ भएको छ ।

अन्तर्राष्ट्रिय सहकार्यतर्फ पनि इकाइले प्रगति गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा इकाइले विदेशी वित्तीय जानकारी इकािसँग ६४ वटा सूचना आदानप्रदान गर्दै सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्धको सहकार्यलाई थप मजबुत बनाएको छ ।

प्रतिवेदनले आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुधारका प्रयासलाई इकाइको प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ । वित्तीय जानकारी विश्लेषणको गुणस्तर सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने इकाइको आगामी कार्यदिशा रहने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + six =