मनोनयनको समय नजिकिँदै, सुनसान छ भृकुटीमण्डप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि थपिएको मनोनयनको समय नजिकिँदै गर्दा महाधिवेशन स्थल भृकुटीमण्डप भने अझै सुनसान देखिएको छ । निर्वाचन समितिले बुधबार बिहानका लागि मनोनयनको अन्तिम समय तोके पनि निर्धारित समय सुरु हुन लाग्दा समेत उम्मेदवार र प्रतिनिधिहरूको चहलपहल सुरु भइनसकेको हो ।
बुधबार बिहान साढे ७ बजिसक्दा महाधिवेशन स्थलमा सुनसान छ । निर्वाचन समितिका सदस्यहरू र कर्मचारीहरू उम्मेदवारी दर्ताका लागि आवश्यक तयारीका साथ कार्यक्षेत्रमा तैनाथ भए पनि उम्मेदवारी दर्ताका लागि नेताहरू अझै आइपुगेका छैनन् ।
केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले मंगलबार अबेर राति विज्ञप्ति जारी गर्दै मनोनयनको समय बुधबार बिहानका लागि पनि थप गरिएको जानकारी दिएका थिए । नयाँ कार्यतालिका अनुसार आज बिहान ८:१५ बजेदेखि ९:१५ बजेसम्म एक घण्टाका लागि मनोनयन दर्ताको समय तोकिएको छ ।
यसअघि मंगलबार दिउँसो २ बजेदेखि सुरु गर्ने भनिएको मनोनयन प्रक्रियालाई पटक-पटक समय थप गर्दै बेलुकी ७ बजेसम्म पुर्याइएको थियो । तर, आन्तरिक तयारी र प्राविधिक कारणले गर्दा निर्वाचन कार्यक्रम आज बिहानसम्मका लागि धकेलिएको हो ।
मंगलबार नै सभापति पदका लागि ४ वटा र अन्य पदाधिकारीका लागि ३० वटा फाराम लगिएको समितिले जनाएको छ । यद्यपि, कुन समूहबाट कसले फाराम लगेको हो भन्ने आधिकारिक जानकारी भने खुलाइएको छैन । मनोनयन दर्ताका लागि समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकेको छ ।









