मुलुकमा चाँडै नै परिवर्तन हुँदैछः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन खोजेको र त्यो चाँडै हुने बताएका छन् ।

आज यहाँ ‘इबुकिङनेपाल डटकम’को उद्घाटन गर्दै उनले फागुन २१ गतेको निर्वाचनपछि देशमा परिवर्तन हुने बताए ।

मन्त्री खरेलले आगामी निर्वाचनमा राम्रो राजनीतिक दलका राम्रा नेता चयन गर्न सबैलाई आग्रहसमेत गरेका छन् । “यसपटकको निर्वाचनमा स्वतन्त्र, स्वावलम्बी, स्वाभिमानी नेपाली नागरिक भएर राम्रो नेता र नेतृत्व चयन गरौं । कसैले विवेकको आत्मसमर्पण नगराउ । नेपालले परिवर्तन खाजेको छ र नेपाल परिवर्तन हुँदैछ, त्यसमा सबैले योगदान गरौँ”, उनले भने ।

मन्त्री खरेलले युवाहरूले नै देशको परिवर्तन गर्ने भन्दै अब कुनै पनि राजनीतिक दलले युवालाई बेवास्ता गरेर अगाडि बढ्ने अवस्था नरहेको बताए ।

उनले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई आधार बनाउनुपर्ने जोड दिँदै राजनीतिक दलले आफ्नो घोषणा पत्रमा पर्यटन प्रवद्र्धन गर्ने उल्लेख गरे पनि काम गर्न भने नसकेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन सेवामा सकारात्मक योगदान पुग्ने बताए ।

उनले नेपालको पर्यटन सम्भावना ‘इबुकिङनेपाल डटकम’ ले उजागरण गर्ने विश्वास व्यक्त गरे ।

इबुकिङनेपाल डटकम प्रालिका सञ्चालक विश्वेश्वर रेग्मीले नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने ‘इबुकिङनेपाल डटकम’ सञ्चालन ल्याएको जानकारी दिए ।

प्रालिका अध्यक्ष डा भूपालमान श्रेष्ठले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवालाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =