विघटित प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन् ।
संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना रहेको बताएका हुन् ।
मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तर्क्रीया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्याउने काम गरिएको पनि दोहो¥याए ।
उनले संविधान र कानुनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढिरहेको दाबी समेत गरे ।
सभामुख घिमिरेले भने, ‘भदौ २७ गते राति करिब ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ । तर सभामुखको संविधान र कानुनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो । भोली संसद पुन स्थापनाको पनि सम्भावना छ । जुन कुरा मैले अघि पनि प्रस्तुत गरिसकेको छु । अव भोली के हुने भन्ने बारेमा भोलीकोप परिस्थितिले तय गर्छ । खासगरी म सभामुख हुन्जेल मैले त्यही भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा म विचार र व्यवहारमा स्पष्ट भएर तपाईँहरूको अगाडि कुरा राख्न चाहन्छु ।’
सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्ने कुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।









