कांग्रेस विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा बुझाए ५४ प्रतिशत हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधरले पार्टीभित्रको विवादलाई निर्वाचन आयोगसम्म पु¥याउने रणनीति अख्तियार गरेका छन् ।
उनीहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार सभापति, कार्यवाहक सभापति तथा केन्द्रीय कार्यसमितिलाई निर्देशन दिन माग गर्दै पुस १६ गते निर्वाचन आयोगमा पत्र लेखेका थिए ।
आयोगले यसमा कुनै जवाफ नदिए पनि केही दिनपछि कुल महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४ प्रतिशतको हस्ताक्षरसहितको फाइल डोरीले बाँधेर बुझाइएको आयोगका एक अधिकारीले जानकारी दिएका छन् । अधिकारीले भने, ‘उहाँहरूको विवाद बढेर विशेष महाधिवेशन हुने निश्चितजस्तो भएपछि हस्ताक्षरको फाइल डोरीले बाँधेर बुझाउनुभएको छ ।’
कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ । असोज २९ गते नै ५४.५८ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट पुरानो केन्द्रीय कार्यसमिति भंग गरी नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ । महामन्त्री गगन थापाले महाधिवेशन हलमै विशेष महाधिवेशनले वैधानिकता पाउने भन्दै प्रतिनिधिहरूलाई आश्वस्त पारेका छन् ।
तर, सभापति शेरबहादुर देउवा तथा संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै आएका छन् । निर्वाचन आयोगले पार्टीको आन्तरिक विवादमा सामान्यतया हस्तक्षेप नगर्ने तर महाधिवेशनपछि कागजात पेस भएमा छानबिन गर्ने बताएको छ ।








