कांग्रेस विशेष महाधिवेशनले गर्यो नयाँ निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसभित्रको विशेष महाधिवेशन पक्षधर समूहले आफ्नो निर्वाचन प्रक्रिया अघि बढाउन नयाँ निर्वाचन समिति गठन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रका बीच डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा नयाँ समिति निर्माण गरिएको हो ।
यसअघि खम्बबहादुर खाँतीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई भंग गर्दै केसीको संयोजकत्वमा पाँच सदस्यीय नयाँ टोली चयन गरिएको हो । निर्वाचन प्रक्रियालाई चुस्त र विवादरहित ढंगले अघि बढाउने उद्देश्यले समिति हेरफेर गरिएको नेताहरूले बताएका छन् ।
नवनिर्मित निर्वाचन समितिका सदस्यहरूमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् । नयाँ समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउने जिम्मेवारी पाएको छ । बन्दसत्र जारी रहँदा एकातर्फ निर्वाचनको तयारी तीव्र पारिएको छ भने अर्कोतर्फ संस्थापन पक्षसँग सहमतिका लागि वार्ता पनि चलिरहेको बुझिएको छ ।








