नेपाली कांग्रेसमा सहमतिको खोजी र नेतृत्व चयनको तयारी सँगसँगै

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक सरगर्मीसँगै सुरु भएको विशेष महाधिवेशन सांगठनिक छलफल र नेतृत्व चयनको रस्साकस्सीका कारण लम्बिएको छ । आइतबारदेखि काठमाडौंमा सुरु भएको यस महाधिवेशनमा सोमबार बन्द सत्रका प्रक्रियाहरू अघि बढेसँगै मंगलबार पनि कार्यक्रम जारी रहने भएको हो ।
सोमबारको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका समसामयिक राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि नौवटा समूह बनाएर घनीभूत छलफल गरिएको थियो । ती समूहका निष्कर्षहरू आज (मंगलबार) बिहान ९ बजे सुरु हुने बन्द सत्रमा प्रस्तुत गरिने कार्यक्रम छ । विशेष महाधिवेशन पक्षका नेता मनोजमणि आचार्यका अनुसार टोली नेताहरूले आफ्नो समूहको सुझाव हलमा टेबुल गरेलगत्तै नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्नेछ ।
महाधिवेशनको कार्यविधिअनुसार निर्वाचन सम्पन्न गर्न एक जना संयोजक रहने गरी पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने तयारी गरिएको छ । सो समितिले निर्वाचन निर्देशिका तयार गरी नियमित महाधिवेशनकै ढाँचामा नेतृत्व चयनको प्रक्रिया अघि बढाउने नेता आचार्यले जानकारी दिएका छन् ।
यसैबीच, नेतृत्व चयनको प्रक्रिया सुरु हुन लागेपछि पार्टीको संस्थापन पक्ष र नेता शेखर कोइराला पक्षले विशेष महाधिवेशन पक्षसँग संवादको पहल थालेका छन् । पार्टीको एकता कायम राख्न निर्वाचन रोक्नुपर्ने पक्षमा रहेको संस्थापन पक्षले यस विषयमा गम्भीर चासो देखाएको हो । सभापति शेरबहादुर देउवाले सोमबार साँझ कोइराला पक्ष र आफूनिकट पदाधिकारीहरूसँग परामर्श गर्दै महामन्त्रीद्वयलाई वार्तामा बोलाउन सुझाव दिएका छन् । आज दुवै पक्षबीच निर्णायक संवाद हुनेछ ।








