शेखर कोइरालाको निवासमा शीर्ष नेताहरूको दौडधूप, पार्टी एकता जोगाउन कार्यकर्ताको दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति तरङ्गित बनिरहँदा डा. शेखर कोइराला समूहले आफ्नो रणनीति तय गर्न आकस्मिक छलफल थालेको छ । सोमबार बिहानैदेखि काठमाडौंको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा संस्थापन ईत्तर समूहका शीर्ष नेता तथा केन्द्रीय सदस्यहरूको बाक्लो जमघट सुरु भएको हो ।
पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएको यो समूहले आगामी कदम कसरी चाल्ने भन्ने विषयमा गम्भीर मन्थन गरिरहेको छ । बैठकमा पार्टी उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार लगायतका प्रभावशाली नेताहरू उपस्थित छन् । छलफलमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र विभिन्न जिल्लाका सभापतिहरूको समेत सहभागिता रहेको छ ।
विशेषगरी विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलनमा जुटेका प्रतिनिधिहरूको दबाब र भावनालाई कसरी सम्बोधन गर्ने भन्ने विषय बैठकको केन्द्रमा रहेको छ । बैठकमा सहभागी एक प्रतिनिधिका अनुसार, हस्ताक्षरकर्ताहरूले पार्टी विधान र पद्धति मिचिएकोमा आक्रोश पोखे पनि पार्टी एकता नै अन्तिम विकल्प हुनुपर्नेमा जोड दिएका छन् ।
बैठकले कोइराला समूहको आगामी राजनीतिक दिशा तय गर्ने अनुमान गरिएको छ । ‘नेतृत्वलाई दबाब दिनु आवश्यक छ, तर पार्टी फुटको सन्देश जानु हुँदैन भन्नेमा धेरैको मत एक छ,’ ती प्रतिनिधिले भने, ‘महाधिवेशन प्रक्रियामा सहभागी हुने वा त्यसलाई बहिष्कार गरेर जाने भन्ने विषयमा पनि अहिले गम्भीर छलफल भइरहेको छ ।’








