विशेष महाधिवेशनले एकताको सन्देश दिन्छ: नेता राणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् ।
शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् ।
उनले आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली काँग्रेसका लागि ठुलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको बताए । उनले पार्टीका नेता कार्यकर्तालाई अग्र नभई संयमित हुन आग्रह गर्दै पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी बाटो अपनाउन समेत अपिल गरे ।
नेता राणाले विशेष महाधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सहयोग गर्न अपिल पनि गरे ।
उनले भने ‘फागुन २१ गतेको निर्वाचन अगाडि पार्टीभित्र केही समस्याहरू हामीले देखेका छौँ । अब विशेष महाधिवेशनको आह्वान पनि भएको छ । पार्टी विभाजित हुने कुरामा म विश्वास गर्दिनँ । कुनैपनि काँग्रेसका नेता कार्यकर्ताले पनि काँग्रेस फुटोस् भन्ने चाहेका छैनन् । तर चुनाव अगाडि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्ने अवस्था छ । प्रतिनिधि सभा चुनाव नेपाली काँग्रेसका निम्ति एकदमै चुनौतीको रूपमा आएको छ । यसलाई फेस गर्नको लागि सबै साथीहरू एकै ठाउँमा उभिएर चुनावमा जानुपर्छ भन्ने हाम्रो धारणा हो । र म नेपाली काँग्रेसका सबै नेता र कार्यकर्ताहरूलाई धेरै उग्र भएर हामी नहिँडौँ भनेर आग्रह पनि गर्न चाहन्छु । यसरी उग्र भएर राम्रो नतिजा दिँदैन । सबैले संयमित भएर यो विशेष महाधिवेशनलाई सेफ ल्याण्ड गराउन जरुरी देखिएको कारणले हामीले यसको लागि मध्यमार्गी बाटो खोज्नुपर्छ । हामी सबैलाई अपिल पनि गर्न चाहन्छौँ । विशेष महाधिवेशनलाई सफल पार्नको लागि सहयोग गर्नुहोस् ।’
आइतबारदेखि हुने विशेष महाधिवेशनले एकताको सन्देश दिने जिकिर पनि गरे ।








