कांग्रेस-एमाले सहकार्य जनताले रुचाएका छैनन्, हामी चुनावमा एक्लै लड्छौं : अग्नि सापकोटा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्ने विषयलाई पार्टी पंक्ति र आम नागरिकले नरुचाएको खुलासा गरेका छन् । नेता सापकोटाले राजनीतिक दलहरूबीचको सहकार्य स्वभाविक प्रक्रिया भए पनि पछिल्लो घटनाक्रमलाई जनस्तरबाट सकारात्मक रूपमा नलिइएको बताएका हुन् । 

राष्ट्रिय सभा निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रस्ताव आफ्नो पार्टीले राखे पनि कांग्रेस र एमाले त्यसमा सहमत नभएको उनले जानकारी दिए । सापकोटाले राष्ट्रिय सभा निर्वाचनको प्रकृति आम निर्वाचनभन्दा फरक भएकाले केही समझदारीको प्रयास गरिए पनि ठूला दलहरूमा ‘मिल्ने छाँट’ नदेखिएको टिप्पणी गरे । यद्यपि, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने नेकपा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै प्रतिस्पर्धामा उत्रिने उनले उद्घोष गरे ।

‘राष्ट्रिय सभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पंक्ति र आम जनताले पनि त्यति मन पराइरहेका छैनन् । यो विषय बाहिर आउँदा आलोचना र टिप्पणीहरू भइरहेका छन्,’ सापकोटाले भने, ‘विगतमा अन्य दलहरूसँग गठबन्धन गर्दा हाम्रो आफ्नो पहिचान स्थापित हुन सकेन । अब हामी स्वतन्त्र ढंगले जनतामाझ जान्छौँ, एक्लै चुनाव लड्न आम जनताको पनि सुझाव छ ।’

नेता सापकोटाले मुलुकको अग्रगामी एजेन्डा र ‘जेनजी’ (नयाँ पुस्ता) ले उठाएका विषयहरूलाई नेकपाले नै सम्बोधन गर्दै आएको दाबी गरे । सोही क्रममा उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विचार र दृष्टिकोणको अभाव रहेको टिप्पणी गरे । राजनीतिक दलहरूमा देखिएको विचारशून्यताकै कारण मुलुक संकटको अवस्थामा पुगेको उनको तर्क छ ।

नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको आन्तरिक किचलोले नेकपा र राष्ट्रिय राजनीतिमा कुनै तात्विक असर नपर्ने सापकोटाले स्पष्ट पारे । यद्यपि, कुनै पनि पार्टी विभाजन हुनुभन्दा एकताबद्ध हुनु नै लोकतन्त्र र सम्बन्धित दलका लागि हितकर हुने सुझाव उनले दिए । उनले भने, ‘कांग्रेसको आन्तरिक मामिलाले हामीलाई खासै फरक पर्दैन, तर पार्टी फुट्नुभन्दा जुट्नु नै राम्रो हो ।’

साथै, नेता सापकोटाले सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए । वर्तमान राजनीतिक संकटको निकास निर्वाचनबाट मात्र सम्भव हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =