शंखरापुर बस दुर्घटनाका मृतक पाँच जनाको परिचय खुल्यो

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३, लप्सीफेदीस्थित जर्सिङपौवा-साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । वनभोज मनाएर फर्किँदै गरेको बस दुर्घटनामा मा परेको हो ।

‘नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनी’को टोली लिएर आउँदै गरेको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनाग्रस्त हुँदा ३३ जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका गोकर्णेश्वर नगरपालिका-५, जोरपाटीका अन्दाजी ६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएको हो । उनको मृत्युसँगै मृतकको संख्या पाँच पुगेको हो ।

यसअघि दुर्घटनालगत्तै र उपचारका क्रममा तीन महिला र एक पुरुषको मृत्यु भएको थियो । मृत्यु हुनेमा बाँके घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ-७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन् ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ भने घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखिएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =