कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन

काठमाडौं । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफूले लिएको राजीनामाको निर्णय भाग्न र जिम्मेवारीबाट विमुख हुनका लागि नभएको स्पष्ट पारेका छन् ।

बुधवार पदबाट राजीनामा दिँदै मन्त्री घिसिङले राजीनामाको निर्णय आफ्नो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिवद्धताको निरन्तरता भएको बताए ।

पदमा रहँदा मात्रै नभइ पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य भएको जिकिर गरे । पद भन्दा ठूलो मूल्य र सिद्धान्त हुने भन्दै उनले कुर्सी भन्दा माथि आत्मसम्मान हुने बताए ।

उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भएको भएपनि उक्त सहमति हालसम्म कार्यान्वयनमा नआएको बताए । आफ्नो समर्थन र सद्भाव रहँदा रहँदै पनि अहिलेसम्म आफूले कुनै राजनीतिक दलको सदस्यता नलिएको बताए ।

राजनीतिक जीवनमा प्रवेश गरेपछि मात्रै राजनीतिक सदस्यता लिने आफ्नो स्पष्ट अडान रहेको उल्लेख गरे । राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने विषयमा नियोजित रुपमा भ्रामक समाचार प्रशारण गरिएको बताए ।

सत्य सधैँ प्रचार भन्दा बलियो हुने जिकिर गरे । पदमा रहँदै निर्वाचन लडेको इतिहास नेपालकै रहेको भन्दै आफूले मन्त्री हुँदा पद भन्दा जनतालाई प्राथमिकता दिएर काम गरेको दाबी गरे ।

उनले छोटो समयमा पनि महत्वपूर्ण नीतिगत सुधारहरुको बलियो जग बसालेको बताए । इमान्दार प्रयास गरे परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास जनतामा जगाउन सकिएको जिकिर गरे ।

मन्त्री घिसिङले सुशासनको जग बसाउन आफूहरु सफल भएको समेत बताए । नविनतम यान्त्रिक प्रविधिको प्रयोग गरी सिंचाई सुविधाको व्यवस्था आफूले गरेको बताए ।

उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय १५ दिनपछि पदबाट राजीनामा दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =