भारतमा नखेल्ने बंगलादेशको माग आइसिसीले गर्‍यो ठाडै अस्वीकार

काठमाडौं । फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटलाई लिएर बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बीच तीव्र विवाद उत्पन्न भएको छ ।

विवादको मुख्य कारण बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइपिएल टोली कोलकाता नाइट राइडर्स (केके आर) बाट रिलिज गर्न निर्देशन दिनु हो ।

मुस्ताफिजुरलाई आइपिएल अक्सनमा ९ करोड २० लाख भारतीय रुपैयाँमा किनेको केके आरलाई बिसिसिआईले राजनीतिक दबाबमा परेर रिलिज गर्न लगाएको बुझिएको छ ।

यसलाई बंगलादेशले आफ्ना खेलाडीको सुरक्षामा खतरा भएको ठानेर विश्वकपका आफ्ना खेल भारतबाहिर सार्न आइसिसीलाई अनुरोध गरेको थियो ।

बिसिबीले सुरक्षा चिन्ता व्यक्त गर्दै विश्वकपका सबै खेल श्रीलंकामा सार्न माग गरेको थियो । तर, आइसिसीले कुनै ठोस सुरक्षा खतरा नभएको भन्दै यो माग ठाडै अस्वीकार गरेको छ ।

ईएसपीएन क्रिकइन्फोका अनुसार आइसिसीले बंगलादेशलाई ‘भारतमै आएर खेल्नु वा अंक गुमाउन तयार हुनु’ भन्ने कडा सन्देश दिएको छ । यद्यपि बिसिबीले आइसिसीबाट यस्तो कुनै अल्टिमेटम नआएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =