कांग्रेसमा नयाँ संकटः विशेष महाधिवेशन आह्वान गर्दै गगन–विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्ने तयारी तीव्र पारेका छन् ।
दिउँसो २ बजे पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनका लागि परिपत्र जारी गर्ने योजना रहेको स्रोतले बतायो ।
यही पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्नेगरी तयारी अघि बढाइएको छ । यसअघि असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित प्रस्ताव बुझाएका थिए । तर, पुस १५ गते केन्द्रीय समितिले सर्वसम्मत रूपमा नियमित महाधिवेशन पुस २६–२८ गते गर्ने कार्यतालिका पारित गरेको थियो ।
नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन नहुने देखिएपछि विशेष महाधिवेशनको विकल्प अघि सारिएको हो ।
अभियन्ता रमेश धमलाका अनुसार भृकुटीमण्डपको हल, बगैंचा र पार्किङ क्षेत्र पूरै बुकिङ भइसकेको छ । महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसकिएको छ ।
कांग्रेसभित्र नियमित महाधिवेशन अनिश्चित बनेसँगै विशेष महाधिवेशनको माग विधानसम्मत रहेको महामन्त्रीद्वयको अडान छ ।








