हरेक नागरिकलाई स्वच्छ हावा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री चौलागाईं

काठमाडौं । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले हरेक नागरिकलाई स्वच्छ हावा उपलब्ध गराउनु सरकारको दायित्व भएको बताएका छन् ।
मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनको अवस्था सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् ।
नेपाल स्वच्छ हावाको हबका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले वायु गुणस्तर सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
उनले वातावरण नीति र वातावरण संरक्षण ऐनअन्तर्गत काठमाडौं उपत्यकाका लागि तयार पारिएको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार २०७६ मै तयार भएको उल्लेख गर्दै कार्यान्वयनमा जोड दिए ।
उनले फोहोर व्यवस्थापन, प्रदुषण नियन्त्रण र हरियाली प्रवद्र्धनलाई मुख्य प्राथमिकताका क्षेत्रका रूपमा उल्लेख गर्दै कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्न सकेमात्रै यी क्षेत्रमा सफलता हासिल गर्न सकिने बताए ।
साथै, वातावरण प्रदुषणसम्बन्धी विद्यमान समस्याहरू समाधानका लागि सम्बन्धित निकायहरुले आफ्नो भुमिका इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा उनको जोड छ
उनले वायु प्रदुषण नियन्त्रणका लागि आगलागि तथा डढेलोका घटना हुन नदिन आवश्यक कार्य गर्न जरुरी रहेको पनि बताए ।








