सरकारको काम ठेक्का रद्ध गर्ने होइन, निर्वाचन गराउने होः अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वर्तमान सरकारको मुख्य काम रुग्ण ठेक्का तोड्ने नभई निर्वाचन गराउने भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा उनले नागरिक सरकारको प्रमुख काम फागुन २१ गते निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताए । उनले सरकारले रुग्ण ठेक्का रद्ध गरेर निर्माण व्यवसायीलाई समाज र देशको ‘भिलेन’ का रूपमा प्रश्तुत गरिएको बताए ।

उनले पूर्वाधारको जिम्मा लिनुभएको मन्त्रीको लहडका कारण सम्पूर्ण निर्माण उद्योगको बदनाम भइरहेको बताए । उनले नागरिक सरकारका मन्त्रीहरू विभिन्न आयोजनास्थलमा पुगेर निर्माण कम्पनीका प्रतिनिधि र सञ्चालकमाथि सार्वजनिक रूपमा आरोप, गालीगलौज तथा अमर्यादित अभिव्यक्ति दिँदै हिँडेको उनको आरोप छ ।

विगत १५ वर्षदेखि रुग्ण अवस्थामा रहेका ठेक्काहरूको वास्तविक कारण नखोजी एकतर्फी रूपमा ठेक्का अन्त्य गर्ने काम भएको उनले बताए । यसले समस्याको समाधान ननिस्किने उनको भनाई छ ।

उनले पहिले ठेक्का रुग्ण भएको कारण अध्ययन गरेर नियमित हुनसक्ने ठेक्कालाई निरन्तरता दिनुपर्ने र काम हुनै नसक्ने ठेक्का मात्रै अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले ठेक्का तोडिएका ९० प्रतिशत आयोजनाहरु राजनीतिक नेतृत्वले पर्याप्त तयारी बिना ल्याएका, समयमा जग्गा प्राप्ति हुन नसकेका र निर्माणका लागि आवश्यक साइट उपलब्ध नभएका ठेक्काहरु रहेको बताए ।

काठमाडौं उपत्यकाका उदाहरण दिँदै उहाँले धेरै ठेक्कामा ८० देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको भएपनि बाँकी कामको लागि साइट नपाएर रुग्ण बनेका ठेक्का हाल तोडिएको जानकारी दिए ।

निर्माण कम्पनीहरूले पटक–पटक साइट उपलब्ध गराउन वा फरफारक गर्न निवेदन दिएपनि सुनुवाई नगरी बसेको तथा फरफारक हुन्छ भनिएका ठेक्काहरू समेत पछि आएर तोडिएको उनको भनाई छ । उनले साइट नदिएका ठेक्कामा निर्माण कम्पनीसंग माफी माग्नुपर्नेमा उल्टै ‘ठेक्का किन नतोड्ने ?’ भनेर सूचना निकालिएको बताए ।

उनले वर्तमान नागरिक सरकारका मन्त्री कुलमान घिसिङले पार्टी खोलेको र निर्वाचनमा मत तान्नको लागी निर्माण व्यवसायीलाई भिलेन बनाएको पनि आरोप लगाए ।

मन्त्री घिसिङको अनाश्यक लहडको कारण निर्माण क्षेत्र तहसनहस बन्ने अवस्थामा पुगेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =