कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गरिरहेका शिवकुमार

पर्वत । बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।

रोजगारीका लागि १२ वर्षसम्म साउदी-कोरिया बसेर फर्किएका उनले गाउँमा रु ६० लाख लगानी गरी कृषि कर्ममा जोडिएको हो । आधुनिक कृषि प्रविधि अपनाउँदै क्षेत्रीले तरकारी, फलफूल तथा पशुपालन व्यवसाय सञ्चालन गरेका छन् ।

सुन्दर भविष्य निर्माण गर्ने आश बोकेर दैनिक हजारौँ युवा विदेश पलायन भइरहेको अवस्थामा उहाँ स्वदेशमा स्वरोजगार बन्ने बाटोमा लागेका छन् ।

सुरुमा सानो लगानीबाट थालेको व्यवसाय अहिले रु ६० लाखभन्दा बढीको लगानीमा विस्तार भइसकेको क्षेत्रीले जानकारी दिए । करिब ९० रोपनी क्षेत्रफलमा एसके कृषि फार्म दर्ता गरी व्यावसायिक तरकारी खेती, फलफूल बगैँचा तथा गाइभैँसीपालन गर्दै आएका  छन् ।

फार्ममा आधुनिक सिँचाइ प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ । उनले मौसमी तथा बेमौसमी तरकारी, आलु, काँक्रा, अदुवा, कागती, टमाटर खेती गरेका छन् ।

“सुरुमा धेरैले कृषि गरेर केही हुँदैन विदेन नै गएको राम्रो भनेका थिए”, क्षेत्रीले भने, “तर मेहनत र सही योजना छनोट गर्न सकेमा यसैबाट प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ ।”

उनले कृषि पेसाबाट सम्मानजनक जीवनयापन र प्रशस्त आम्दानी गर्न सकिने धारणा राखे । किसान क्षेत्रीले आफ्नो फार्मबाट वार्षिक लाखौँको तरकारी तथा भक्तपुरे जातको स्थानीय काँक्राको बीउ बिक्री हुने गरेको जानकारी दिए ।

हरेक वर्ष लगानी थप गर्दै आएकाले आम्दानी यकिन नभएको उनको भनाइ छ । उनले वार्षिक रूपमा करिब रु ५० लाखसम्मको कारोबार हुन गरेको बताए । किसान क्षेत्रीले आगामी वर्षदेखि आम्दानी बढ्दै जाने उल्लेख गर्दै कोरियाबाट फर्केर विहादीलाई कृषि उत्पादनको क्षेत्रमा ‘ब्रान्ड’ बनाउने योजना रहेको बताए ।

उनका अनुसार प्रत्यक्ष रूपमा पाँच जनाले रोजगारी पाएका छन् भने स्थानीय किसान पनि आधुनिक खेतीप्रति आकर्षित भएका छन् । किसान क्षेत्री अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले यस वर्ष एक हजार ४०० किलो काँक्राको बीउ उत्पादन गरेको छ ।

कृषक समूहमा ३२ जना सदस्य आबद्ध छन् । समूहका अध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष उत्पादित बीउ जिल्लाभर प्रतिकिलो रु छ हजारका दरले बिक्री भएको जानकारी दिए ।

गत वर्षको दररेटअनुसार मूल्य आउँदा मात्रै पनि कृषक समूहबाट मात्रै उत्पादित काँक्राको बीउको मूल्य रु ८० लाखभन्दा बढी रकम हुने उनले बताए । क्षेत्रीले ४५ रोपनी जग्गामा बीउ उत्पादनका लागि काँक्रा खेती गरेकामा ९० किलो बीउ उत्पादन हुने गरेको जानकारी दिए ।

आफ्नो पेसामा सन्तुष्ट रहेका उनले ग्रामीण क्षेत्रका किसानलाई बैङ्कहरूले ऋण नदिने गरेका भन्दै गुनासो गरे ।

“सरकारले किसानलाई सहुलियत ब्याजदरमा कृषि ऋण दिनुपर्छ । कृषि विकास बैङ्कले ऋण दिन्छु भनेर अन्तिममा फार्म रहेको जग्गामा पक्की बाटो नपुगेको रहेछ । बाटो नपुगपछि धितो उपयुक्त नभएको भनी अन्तिममा ऋण दिएन । यसले व्यवसाय विस्तारमा समस्या भयो । यस्तो समस्या हुन नदिन स्थानीय निकायले विशेष पहल गर्नुपर्छ”, किसान क्षेत्रीले भने ।

आगामी दिनमा लोकल कुखुरा र हाँसपालन गर्ने योजना रहेको उनले बताए । “कृषिमा अझै धेरै सम्भावना छन्”, क्षेत्रीले भने, “युवाले विदेशमा भन्दा गाउँमै अवसर खोज्नुपर्छ ।”

पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजार र मूल्यको अभाव नहुने उनको अनुभव छ । विहादी गाउँपालिकाका कृषि शाखाका प्राविधिक जीवन शाहीले कृषक क्षेत्रीको सफलताले गाउँका अन्य युवालाई कृषि पेसातर्फ आकर्षित गरेको बताए ।

गाउँको उर्वर भूमि र आधुनिक सोचको संयोजनले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उनले विश्वास व्यक्त गरे । जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले लोकमार्ग केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्षेत्रीलाई यस वर्ष रु एक लाख ५५ हजार अनुदान प्रदान गरिएको जानकारी दिए ।

उनले युवा व्यावसायिक कृषि क्षेत्रमा आकर्षित हुन थालेका बताउँदै राज्यले पनि उनीहरूलाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे । आधुनिक प्रविधिको प्रयोग, बजार पहुँच र सरकारी सहुलियतले कृषि व्यवसायलाई थप सम्भावना बोकेको क्षेत्र बनाएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =