मुक्तिनाथ विकास बैंकको २० औं वार्षिकोत्सवः ७५५ युनिट रक्तदान, थुप्रै सामाजिक कार्य सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव पूरा गरी २० औं वर्षमा प्रवेश गरेको अवसरमा देशभर विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ ।
बैंकले मिति २०८२ पुस १९ गते केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्की गरी आठवटै क्षेत्रीय कार्यालयहरूमा एकैसाथ बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट कुल ७५५ युनिट रगत संकलन गरी सम्बन्धित स्थानीय रक्तसञ्चार केन्द्रहरूलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सोही अवसरमा “सन् २०५० मा मेरो नेपाल” शीर्षकको राष्ट्रव्यापी चित्रकला प्रतियोगिता (Art Competition 2.0 ) आयोजना गरिएको थियो । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूका लागि खुला यो प्रतियोगितामा देशभरबाट ७९१ जना सहभागी भएका थिए ।
प्रतियोगितामा काठमाडौंबाट सहभागी रिया खड्काले सर्वोत्कृष्ट चित्र सिर्जना गरी प्रथम स्थान हासिल गर्दै रु. ५० हजार नगद र प्रमाणपत्र प्राप्त गरेकी छिन् । यसैगरी, प्रत्येक क्षेत्रीय कार्यालयअन्तर्गतका उत्कृष्ट चित्रकारहरूलाई जनही रु. १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार छनोट स्वतन्त्र विषय विज्ञहरूको मूल्यांकनमा आधारित थियो ।

बैंकले सातवटै प्रदेशका विभिन्न विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई छात्रवृत्ति, न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण, बागमती सफाई महाअभियानलाई सफाई सामग्री हस्तान्तरण, सेवा आश्रमलाई न्यानो सिरक र डस्ना सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण, हुम्लाको अदानचुली गाउँपालिकाका विपन्न परिवारलाई जीविकोपार्जनका लागि सिलाई मेसिन वितरण तथा ई–नेबल नेपालमार्फत अंगभंग भएका बालबालिकालाई कृत्रिम हात हस्तान्तरणजस्ता थुप्रै सामाजिक कार्यहरू सम्पन्न गरेको छ ।
केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले स्वागत मन्तव्य तथा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको प्रगति र गतिविधिबारे प्रकाश पारेका थिए ।
सोही अवसरमा बैंकको संस्थागत गीत विमोचन गरिएको तथा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन व्यवस्थापक तेजबहादुर गिरीले गरेका थिए ।









