प्रचण्डविरुद्ध हत्या अभियोगको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन मुद्दामा फौजदारी अभियोग लगाएर छानबिन र कारबाहीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यो रिटको पेसी तोकिएको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीसहितका रिट निवेदकले २०७९ फागुन २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा प्रचण्डले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई आधार बनाइएको छ । उक्त कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा १७ हजारमध्ये ५ हजारको जिम्मेवारी आफूले लिने बताएका थिए ।

रिटकर्ताहरूले यो अभिव्यक्तिलाई ‘हत्याको साविति बयान’ का रूपमा व्याख्या गर्दै प्रचण्डमाथि तत्काल पक्राउ गरी फौजदारी कारबाही अघि बढाउन माग गरेका छन् । रिटमा भनिएको छ, ‘प्रचण्डलाई न त व्यक्ति मार्ने छुट छ, न त मार्न आदेश दिने । प्रचण्डको सार्वजनिक स्वीकारोक्ति गैरकानुनी छ र उनी कानुनभन्दा माथि छैनन् ।’

रिटमा प्रचण्डको कमान्ड रेस्पन्सिबिलिटी (कमान्ड जिम्मेवारी) लाई जोड दिँदै माओवादीका तत्कालीन सुप्रिम कमान्डरका हैसियतले उनले जारी गरेको क्रूरतापूर्ण सर्कुलर र सफायाको नीतिलाई आधार बनाइएको छ । साथै, बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको फैसलाअनुसार निहत्था नागरिकको यातनासहित हत्या भएको दाबी गरिएको छ ।

द्वन्द्वकालीन जघन्य अपराधमा फौजदारी जवाफदेहिता कायम गर्नु आजको आवश्यकता भएको रिटमा उल्लेख छ । सरकारले द्वन्द्वमा मारिएकाहरूको एकिन तथ्यांक सार्वजनिक नगरेको पनि रिटकर्ताहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =