विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताएकी छन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेकी हुन् ।
संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने गरेको प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति लक्षित गर्दै उनले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा यस्तो प्रणाली सान्दर्भिक नहुने तर्क गरे । पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने बताइन् ।
उनले भनिन् ‘संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ । हामी आवधिक निर्वाचन मार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौँ, तर जनादेश प्राप्त गरिसकेपछि पनि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हो ।’
उनले लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धता नै शासन पद्धतिको सफलताको आधार भएकोमा जोड दिए ।









