नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइएको दाबी गरेका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनी लोकतान्त्रिक शक्तिहरू मिल्न नदिन र प्रतिक्रान्तीको बाटोमा मुलुकलाई अघि बढाउने उद्देश्यप्रेरित समूहहरूले नेकपा (एमाले) माथि समेत हाल्ने प्रयास भइरहेको टिप्पणी गरे । उनले नेकपा (एमाले) जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान् बोकेको पार्टी भएको भन्दै आफ्ना नीति र सिद्धान्तमा सजग र सचेत भएको समेत बताए ।

उनले भने ‘लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिनका लागि कसरी फुट्यो, कसले फुटायो, किन फुटायो, फुटेर के भो, नेपाली काँग्रेस त फुट्यो । अरूलाई पनि फुटाउने कोसिस हुन सक्छ । पहिले पहिले पनि फुटाउने कोसिस भएको छ । पार्टीहरू फुटेका छन् । मुस्किलले एकता गर्यो, फुट्ने बेलामा चम्किँदै फुट्छ । मुस्किलले एकता गर्यो सजिलोसँग फुट्छ, त्यो हामीले देखेका छौँ । यो कुरालाई हामीले सावधानीका साथ रोक्नुपर्ने छ आजको अवस्थामा । प्रयासहरू भएका छन् तर नेकपा (एमाले) यति मजबुत, यति सुदृढ पार्टी हो, जननेता मदन भण्डारीले उहाँको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान् उद्देश्य भनेको समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने महान् उद्देश्य बोकेको यो पार्टी आफ्ना उद्देश्यहरू प्रति अत्यन्तै सचेत र सजग छ । त्यसकारण यो कसैले हात हाल्न खोज्दैमा त्यस्ता बाहिरबाट हात हाल्न खोजिए भने त्यस्ता कुराहरूलाई हामीले चिन्छौ, त्यस्ता कुराहरूलाई पराजित गर्छौँ । नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहने छ । सुदृढ छ, अझ सुदृढ हुनेछ ।’

उनले पार्टीभित्र कसैले हात हाल्न खोजे पराजित गर्ने क्षमता समेत पार्टीमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =