काठमाडौं-५ बाट ईश्वरको नाम एकल सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ ले ईश्वर पोखरेललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनमा पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

यससँगै एमाले सचिव राजन भट्टराईको क्षेत्र परिवर्तन गरेर सुरक्षित अवतरण गर्ने प्रयास तत्कालका लागि विफल भएको छ । एमालेभित्र नेपाली कांग्रेससँग चुनावी गठबन्धन हुन सक्ने चर्चा चुलिएसँगै सचिव भट्टराईले आफ्नो पुरानो निर्वाचन क्षेत्र (काठमाडौं-४) छाड्ने मनस्थिति बनाएका थिए । यदि कांग्रेससँग गठबन्धन भएमा क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापा साझा उम्मेदवार बन्ने र आफू टिकटविहीन हुने वा पराजित हुने डरले भट्टराई क्षेत्र नम्बर ५ तिर आकर्षित भएका थिए ।

विगतमा पनि थापासँग पराजित हुँदै आएका भट्टराई यसपटक ‘सेफ जोन’ को खोजीमा थिए । राजन भट्टराई क्षेत्र नम्बर ५ मा आउने चर्चा चलेपछि यस क्षेत्रका नेता नारायण सिलवालले सुरुमा उम्मेदवारीमा दाबी गरेका थिएनन् । तर, आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा आउन खोजेको भन्दै पार्टी पंक्तिभित्रै भट्टराईको तीव्र आलोचना सुरु भयो । बाहिरिया उम्मेदवारलाई स्वीकार गर्न नसकिने आवाज उठेपछि अन्ततः क्षेत्रीय कमिटी ईश्वर पोखरेललाई नै सर्वसम्मत उम्मेदवार बनाउने निष्कर्षमा पुगेको हो ।

ईश्वर पोखरेलले यस क्षेत्रबाट अहिलेसम्म एक पटक मात्र जित हासिल गरेका छन् । तर, आन्तरिक विवाद र गठबन्धनको सम्भावित परिदृश्यका बीच एमालेले पुनः उनैलाई अघि सार्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =