रास्वपाप्रति सिके राउतको आक्रोश- तीन महिनाको ‘भिजन’ नहुनेले देशलाई कुन खाल्डोमा हाल्ने हुन् ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उदाउँदा नयाँ राजनीतिक शक्ति र ‘स्वतन्त्र’ अभियानप्रति तिखो प्रहार गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्र उम्मेदवारहरूको लहरप्रति लक्षित गर्दै उनले अदूरदर्शी नेतृत्वको हातमा देशको डाडुपुन्यु पुगे मुलुक दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका हुन् ।
‘स्वतन्त्रको राजनीति’ शीर्षकमा सामाजिक सञ्जालमा लामो टिप्पणी लेख्दै डा. राउतले बिना योजना र स्पष्ट गन्तव्य नभएका शक्तिहरूले देश हाँक्ने अवसर पाए भने तीन महिनामै मुलुकलाई खाल्डोमा हाल्ने जिकिर गरेका छन् । डा. राउतले नयाँ दल र स्वतन्त्र अभियानलाई ‘ब्रेक र इन्धन बिनाको गाडी’ सँग तुलना गरेका छन् । उनले व्यंग्यात्मक शैलीमा प्रश्न गरेका छन्, ‘जसले ३ महिना अगाडिसम्म गाडी चलाउन ब्रेक, इन्धन वा ब्याट्री केही चाहिँदैन भनिरहेको थियो, त्यस्तो ड्राइभरले गुडाएको गाडी चढेर तपाईं मुक्तिनाथको यात्रा गर्न सुरक्षित ठान्नुहुन्छ ?’
अध्यक्ष राउतले केही समयअघिसम्म दलीय व्यवस्था, संसद र संविधानकै विरोध गर्नेहरू अहिले एकाएक पार्टी प्रवेश गरेर सपथ खानुलाई ‘महा-विरोधाभास’ को संज्ञा दिएका छन् । ‘हिजोसम्म पार्टी, संसद, प्रदेश सभा र संघीयता केही चाहिँदैन भन्दै उफ्रिनेहरू आज त्यही पार्टीको अगाडि घुँडा टेक्दैछन्,’ राउतले लेखेका छन्, ‘तीन महिना अगाडिको आफ्नो अडानमा टिक्न नसक्ने र सामान्य आकलन गर्न नसक्नेहरूसँग देश बनाउने कुन दूरदृष्टि होला ?’
नयाँ खुलेका दलहरूमा देखिएको टुट-फुट र अस्थिरतातर्फ संकेत गर्दै उनले दुई दिनको ठेगान नभएकाहरूको पछाडि लाग्नु जनताको भूल हुने तर्क गरेका छन् । उनले आफ्ना अगुवाहरू लुरुलुरु पार्टीको सपथ खान जाँदा पनि ‘म स्वतन्त्र हुँ, दलको सदस्य बन्दिनँ’ भन्दै कसम खाइरहेका युवाहरूप्रति सहानुभूति मिश्रित व्यंग्य समेत गरेका छन् ।









