धार्मिक सहिष्णुतामाथि खलल पुर्याउनेमाथि कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले धार्मिक समुदायबीच हिंसा भड्काउने खालका गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्ने भएको छ ।
आईतवार सिंहदरवारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले मधेस प्रदेशमा धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने खालका गतिविधि तत्काल नियन्त्रण गर्नका लागि आवश्यक कानूनि कारवाहीलाई अघि बढाउने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले त्यस्ता खालका गतिविधिमा संलग्न जिल्लाहरुमा धार्मिक सदभाव र सहिष्णुता बढाउनका समन्वयात्मक रुपमा प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई समेत आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लले जानकारी दिए ।
मधेस प्रदेशको वीरगञ्ज, जनकपुरलगायतका जिल्लाहरुमा टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरी धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै हिंसात्मक गतिविधि अघि बढेपछि सरकारले त्यस्ता खालका गतिविधि हुन नदिनका लागि कडाईका साथ निगरानी राख्न पनि स्थानीय प्रशासनलाई सचेत गराएको छ ।
त्यसैगरी सो विषयमा गृह मन्त्रालयले सोमवार (भोलि) राष्ट्रिय मानव अधिकार आयोग लगायतसँग पनि छलफल गर्न बैठक बोलाएको छ ।
बैठकमा जेनजी आन्दोलनको क्रममा फरार रहेका कैदीहरुलाई पक्राउ गर्ने अभियानलाई तिब्रता दिन पनि गृहमन्त्री अर्यालले प्रहरी प्रशासनलाई सचेत गराएका थिए ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको तयारीका बारेमा भईरहेका कामबारे गृहमन्त्री अर्याललाई ब्रिफिङ पनि गरेका थिए ।









