प्रतिनिधिसभा निर्वाचन: विष्णु पौडेल रूपन्देही २ बाट एकल सिफारिस

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उपाध्यक्ष पौडेलको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले बैठकमा अन्य कुनै नाममाथि छलफल नभई पौडेलको नाममात्र अगाडि सारिएको जानकारी दिए ।
रूपन्देही २ उपाध्यक्ष पौडेलको गृह क्षेत्र हो । उनी २०५६ सालदेखि निरन्तर यो क्षेत्रबाट चुनाव लड्दै आएका छन् । २०५६ मा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका पौडेलले त्यसपछिका निर्वाचनहरूमा भने लगातार जित हात पारेका छन् ।
२०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी विजयी भएका थिए ।









