भेनेजुएला प्रकरणमा झलनाथको आक्रोश- ‘तेल भण्डार कब्जा गर्ने अमेरिकी प्रपञ्च, यो राज्य आतंकवाद हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् । उनले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउने ‘राज्य आतंकवाद’ को संज्ञा दिएका छन् ।

आइतबार एक विशेष विज्ञप्ति जारी गर्दै नेता खनालले अमेरिकी हस्तक्षेपलाई भेनेजुएलाको सार्वभौमसत्तामाथिको नाङ्गो आक्रमण र घोर अपराध भनेका छन् । उनले भनेका छन्, ‘यो अमेरिकी प्रभुत्ववादी दादागिरीको पराकाष्ठा हो, जसलाई राज्य आतंकवाद भन्नु अत्युक्ति हुँदैन ।’

खनालले अमेरिकाले भेनेजुएलामा रहेको विश्वकै विशाल तेल भण्डार हडप्ने उद्देश्यले लामो समयदेखि ‘गिद्धे दृष्टि’ लगाउँदै आएको आरोप लगाएका छन्।  उनका अनुसार, राष्ट्रपति निकोलस मदुरोको सरकारलाई अपदस्थ गर्न अमेरिकाले ‘लागूऔषध ओसारपसार’ (ड्रग ट्राफिकिङ) को कपोलकल्पित र झुटो बहाना अघि सारेको हो ।

विज्ञप्तिमा खनालले भेनेजुएली जनताले साम्राज्यवादी आक्रमणको डटेर सामना गरिरहेको उल्लेख गर्दै नेपालका तर्फबाट पूर्ण ऐक्यबद्धता जाहेर गरेका छन् । उनले विश्वका न्यायप्रेमी मुलुक, तेस्रो विश्वका राष्ट्रहरू र स्वयं संयुक्त राष्ट्रसंघ समेत अमेरिकी ज्यादतीको विपक्षमा रहेको जिकिर गरे ।

पूर्वप्रधानमन्त्री खनालले नियन्त्रणमा लिइएका राष्ट्रपति मदुरो र उनकी पत्नीको तत्काल सकुशल रिहाइको माग गरेका छन् । साथै, उनले साना र कमजोर राष्ट्रहरूको सार्वभौमसत्ताको रक्षा गर्न र यस्ता हिंसात्मक गतिविधि रोक्न संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायले कडा कानुनी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =