फागुन २१ मा निर्वाचन हुन्छ, युवाहरूलाई चयन गरौँ: सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिवार ललितपुरको पाटनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निष्पक्ष र धाँधलीरहित ढंगले समयमै निर्वाचन गराउन सरकार लागि परेको बताएका हुन् ।

सो अवसरमा मन्त्री खरेलले निर्वाचनमा युवा नेता र नेतृत्व चयन गर्न पनि आग्रह गरे । उनले मुलुक परिवर्तनको बाटोमा अघि बढेको जिकिर गर्दै त्यसलाई अघि बढाउन पनि युवाहरूलाई निर्वाचनमा चयन गर्नुपर्ने बताए ।

मन्त्री खरेलले भने ‘चुनाव फागुन २१ मा हुँदैछ । यो चुनावमा यहाँहरू सबैलाई म आग्रह गर्न चाहन्छु–कृपया यस पटक हामीले गल्ती नगरौँ । राम्रो नेता, राम्रो नेतृत्व हामीले ल्याउन जरुरी छ । यसतर्फ यहाँहरूलाई सफलता मिलोस् । म यो शुभकामना दिन चाहन्छु । अब मुलुक परिवर्तनको बाटोमा अघि बढ्दैछ । अब युवा पुस्ता राजनीतिमा आउँदैछ । आउनु पर्छ । र देशको अनुहार बदलिँदै छ । यो बदलिने कुरामा यहाँहरू सबैको साथ सरकारले राखेको छ । र यो सरकार समयमै चुनाव गराउने कुराहरूमा निष्पक्ष निर्वाचन गराउने कुरामा, धाँधलीरहित निर्वाचन गराउने कुरामा प्रतिबद्ध रहेको कुरा यहाँहरूलाई अनुरोध गर्दछु ।’

मन्त्री खरेलले सरकारले जेन–जी आन्दोलनको मर्म अनुसार मुलुकलाई भ्रष्टाचारमुक्त गराउने काममा लागि परेको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 17 =