चिसोमा कसरी बच्ने ? यस्ता छन् स्वास्थ्य मन्त्रालयको ७ बुँदे सुझाव

काठमाडौं । देशभर चिसो ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जाडोयाममा तापक्रम घट्दै जाँदा शीतलहर, बाक्लो हुस्सु र कुहिरोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन सर्वसाधारणमा अपिल गरेको हो ।
जाडोयाममा बढ्दो वायु प्रदूषण र चिसोका कारण मुटु, फोक्सो तथा मस्तिष्कमा नकारात्मक असर पर्न सक्ने जोखिम रहन्छ । मन्त्रालयका अनुसार चिसोले गर्दा दम, रुघाखोकी, ज्वरो आउने, सास फेर्न गाह्रो हुने तथा ‘हाइपोथर्मिया’ (शरीरको तापक्रम अत्याधिक घट्ने) जस्ता समस्याहरू देखिन सक्छन् । यस्ता समस्याले दीर्घरोगी तथा कमजोर प्रतिरोधी क्षमता भएका व्यक्तिहरूको मृत्युदरसमेत बढाउन सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ ।
जोखिममा को ? के खाने ?
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार चिसोको उच्च जोखिममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीहरू रहेका छन् । तसर्थ, जाडोबाट बच्न शरीर पूरै ढाक्ने गरी न्यानो लुगा लगाउन, धुवाँ–धुलोबाट बच्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ ।
साथै, शरीरलाई न्यानो राख्न तातो र पोसिलो झोल पदार्थ प्रशस्त पिउन, भिटामिन–सी युक्त फलफूल (सुन्तला, अमला, कागती) तथा मौसम अनुसारका सागसब्जी खान पनि मन्त्रालयले आग्रह गरेको छ ।
हिटर र गिजर : ‘साइलेन्ट किलर’ बाट बच्नुहोस्
जाडो छल्न आगो ताप्दा वा हिटर र गिजरको प्रयोग गर्दा सावधानी नअपनाए ज्यानै जान सक्ने खतराप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण गराएको छ । हावा राम्ररी ओहोरदोहोर नहुने बन्द कोठामा हिटर वा कोइला बाल्दा निस्कने रंगहीन र गन्धहीन ‘कार्बन मोनोअक्साइड’ ग्यासले निस्सासिएर मानिसको मृत्यु हुन सक्छ ।
त्यसैले सुत्ने बेलामा अनिवार्य रूपमा हिटर वा आगो निभाउन, ग्यास गिजरलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र आगो ताप्दा भेन्टिलेसनको व्यवस्था गर्न विज्ञहरूले सुझाएका छन् ।
यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने वा चक्कर लाग्ने जस्ता लक्षण देखिए तुरुन्त खुला ठाउँमा निस्कन र समस्या जटिल बने नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा मन्त्रालयको ‘हेलो स्वास्थ्य’ को हटलाइन नम्बर १११५ मा परामर्श लिन अनुरोध गरिएको छ ।
हेरौं बुँदामा :-
१. घरभित्रै बसौँ : अत्यधिक चिसोको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कौँ । निस्कनै परे न्यानो लुगा लगाएर मात्र निस्कौँ ।
२. खानपानमा ध्यान : शरीर तातो राख्न प्रशस्त मात्रामा तातो पानी र झोलिलो पदार्थ पिउने गरौँ । भिटामिन ‘सी’ पाइने सुन्तला, कागती, अमला जस्ता फलफूल र ताजा सागसब्जी नियमित खाऔँ ।
३. जोखिम वर्गको ख्याल : बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई चिसोले छिटो समात्ने हुँदा उनीहरूको विशेष ख्याल राखौँ ।
४. हिटरमा सावधानी : झ्याल–ढोका बन्द गरेर कोठाभित्र आगो, हिटर वा ब्रिकेट नबालौँ । यसबाट निस्कने कार्बन मोनोअक्साइड ग्यास ज्यानमारा हुन सक्छ । सुत्नुअघि अनिवार्य रूपमा आगो वा हिटर निभाऔँ ।
५. गिजरको सुरक्षा : ग्यास गिजर सधैँ बाथरुमभन्दा बाहिर वा हावा खेल्ने ठाउँमा जडान गरौँ ।
६. लक्षणको पहिचान : हिटर वा आगो ताप्दा टाउको दुख्ने, रिँगटा लाग्ने वा वाकवाकी लाग्ने भएमा तुरुन्त खुला ठाउँमा जाऔँ ।
७. परामर्श : स्वास्थ्यमा कुनै पनि जटिलता देखिए नजिकको अस्पताल वा स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा सम्पर्क गरौँ ।









