विशेष महाधिवेशनको मिसनबीच गगनको धुलिखेल बसाइ छोटियो, देउवाको ‘काउन्टर’ रणनीति

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहसले उत्कर्ष रूप लिइरहेका बेला महामन्त्री गगन थापा आफ्नो ‘धुलिखेल बसाइ’ छोट्याएर शुक्रबार बिहानै काठमाडौँ आइपुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले अकस्मात् केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेपछि महामन्त्री थापा राजनीतिक दस्ताबेज लेखनलाई थाती राख्दै राजधानी फर्किएका हुन् ।
विशेष महाधिवेशनका लागि आवश्यक राजनीतिक प्रस्ताव र खाका तयार पार्न भन्दै थापा बिहीबार काभ्रेको धुलिखेल पुगेका थिए । केही दिन धुलिखेलमै बसेर दस्ताबेजलाई पूर्णता दिने उनको योजना थियो । बिहीबार साँझ नै सभापति देउवाले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि महाराजगञ्जस्थित निवासमा बोलाएका थिए । तर, थापा ‘मिसन विशेष महाधिवेशन’ मा केन्द्रित हुँदै धुलिखेलतिर लागेपछि उक्त भेट हुन सकेको थिएन ।
शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएपछि परिस्थिति बदलिएको छ । थापानिकट स्रोतका अनुसार काठमाडौँ फर्किएलगत्तै उनले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग सघन छलफल सुरु गरेका छन् । आन्तरिक परामर्श र रणनीति तय गरेपछि मात्रै दिउँसो बस्ने बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय लिने महामन्त्री थापाको तयारी छ ।
देउवाको दौडधुप र रणनीतिक छलफल
महामन्त्रीद्वय थापा र शर्माले नियमित अधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको तयारी थालेपछि संस्थापन पक्ष दबाबमा देखिएको छ । महामन्त्रीहरूको यो कदमपछि सभापति देउवाले शुक्रबार बिहानैदेखि शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।
देउवाले बिहानै कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरूलाई महाराजगञ्ज बोलाएर ३ बजेको बैठकमा प्रस्तुत हुने रणनीतिका विषयमा छलफल गरेका छन् । देउवानिकट स्रोतले भन्यो, ‘सभापतिज्यूले अहिले शीर्ष नेताहरूसँग परामर्श गरिरहनुभएको छ, महामन्त्रीहरूको कदमलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ ।’
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर १६ पुसका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वयले बिहीबार नै नियमित अधिवेशन स्थगनको सूचना जारी गरेका थिए । महामन्त्रीद्वयले अबको केही दिनभित्रै अर्थात् २७ पुसका लागि विशेष महाधिवेशन घोषणा गर्ने तयारी गरेका छन् । यसका लागि उनीहरूको समूहले काठमाडौँको भृकुटीमण्डप समेत बुक गरिसकेको छ ।









